काठमाडौं । सरकारले प्रत्येक वर्ष जेठ १५ गते मनाउँदै आएको गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना भइरहेको छ।
शुक्रबार बिहानदेखि सुरु भएको उक्त विशेष समारोहमा मुलुकका उच्च पदस्थ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, र सभामुख डोलप्रसाद अर्याल लगायत विभिन्न मन्त्री तथा सरकारका उच्च अधिकारीहरू सहभागी छन्।
यस वर्षको गणतन्त्र दिवसमा एउटा नयाँ परम्पराको सुरुवात गरिँदै छ। विगतका वर्षहरूमा प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने चलन रहेकोमा, यसपालि भने राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। गणतन्त्रको प्रतीक राष्ट्रपति नै भएकाले उनैले सम्बोधन गर्नु उपयुक्त हुने भन्दै सरकारले औपचारिक रूपमा पत्र नै पठाएर राष्ट्रपति पौडेललाई सम्बोधनका लागि अनुरोध गरेको थियो।
टुँडिखेलमा आयोजित समारोहलाई थप आकर्षक बनाउन काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाहरूले आ-आफ्नो सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिरहेका छन्। यसैगरी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट मार्च पास्ट (कवाज) तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरिएको छ। सोही अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट आकाशबाट पुष्पवृष्टि समेत गराइएको थियो।

















