काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुमवासीको समस्या समाधान हुने प्रतिबद्धता जनाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।
‘म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई भनेको के थियो भने, उहाँहरूलाई त्यहाँबाट स्थानान्तरण गरेर, होल्डिङ सेन्टरमा राखेर जो सहि सुकुमवासी हुनुहुन्छ, जसको देशैभरी जग्गा पनि छैन, उहाँहरूलाई जग्गाको व्यवस्थापन सरकारले गर्नुपर्छ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।
काठमाडौं उपत्यकाका सुकुमवासीलाई विगतका धेरै वर्षमा घर डुबानमा पर्ने र स्वास्थ्य संकट निम्तिएकाले तत्काल काम गरिएको उनले प्रष्ट पारे । ‘काठमाडौं उपत्यकामा बसेकालाई किन हटाइयो भने, विगतमा धेरै वर्षमा बाढी आउँदा उहाँहरूको घर डुबानमा पर्ने, उहाँहरूको स्वास्थ्य अवस्था पनि कमजोर थियो । उहाँहरूको निकासको अवस्था सिधै खोलामा थियो । फोहोरको दुर्गन्धले उहाँहरू नै बिरामी पर्नुभएको थियो,’ प्रधानमन्त्री शाहले भने ।


















