काठमाडौं । शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा २ जना चिनियाँ नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१ बस्ने चीन फुजियान घर भएका ३३ वर्षीय WANG WEND र CHEN SHUANGGUI रहेका छन् ।
काठमाडौं महानगरपालिका-१ नक्साल नारायणचौर एरियामा चिनियाँ नागरिकहरू भिजिट भिषामा नेपाल आई भिषाको उद्देश्य विपरित शंकास्पद गतिविधि गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं नक्साल नारायणचौरस्थित आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको लाईभ हब एपमार्फत एकाउन्ट खोली विदेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गरी पैसा माग्ने गरेको समेत खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको छ ।


















