बेलायती प्रधानमन्त्रीले राजीनामा दिने

2

काठमाडौं । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले आफ्नो पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेका छन्।

बुधबार १० डाउनिङ स्ट्रिटबाहिर राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्।

सम्बोधनका क्रममा स्टार्मरले आफूले पदमा रहँदा गरेका हरेक निर्णयहरू आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर गरिएको स्पष्ट पारेका छन्।

प्रधानमन्त्री स्टार्मरले आगामी आम निर्वाचनमा पार्टीको नेतृत्व गर्न आफू उपयुक्त पात्र हो कि होइन भन्ने प्रश्न पार्टीभित्र उठेको र सोही प्रश्नको उत्तरलाई आफूले सद्भावका साथ स्वीकार गर्दै पद त्याग्ने निर्णय गरेको बताए। सन् २०२४ को जुलाईमा सत्ता सम्हाल्दा आफूले राजनीतिक र आर्थिक रूपमा निकै कमजोर अवस्थाको पार्टी पाएको स्मरण गर्दै उनले आफ्नो नेतृत्वमा पार्टीलाई सुदृढ बनाएको दाबी गरे।

विशेषगरी पार्टीभित्र रहेको यहूदी विरोधी भावना (एन्टी-सेमिटिज्म) लाई निर्मूल पारेको र अर्थतन्त्र तथा राष्ट्रिय सुरक्षामा जनताको विश्वास पुन: स्थापित गरेको उनले उल्लेख गरे।

राजीनामाको औपचारिक घोषणा गर्नुअघि स्टार्मरले बकिङ्घम प्यालेसमा किङ चार्ल्ससँग आफ्नो निर्णयबारे कुराकानी गरेका थिए। लेबर पार्टीको नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई ९ देखि मनोनयन खुल्ने र संसदीय ग्रीष्मकालीन बिदा अगावै यो प्रक्रिया सम्पन्न हुने कार्यतालिका तय गरिएको छ। सेप्टेम्बरमा संसद् पुनः सुरु हुनुअघि नै नयाँ नेता चुनिसक्ने लक्ष्य राखिएको छ। त्यतिन्जेलसम्म स्टार्मर नै प्रधानमन्त्रीका रूपमा बहाल रहनेछन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री स्टार्मर निकै भावुक समेत देखिएका थिए। उनले आफ्नी पत्नी भिक्टोरियालाई आफ्नो मजबुत आधार भन्दै धन्यवाद दिए भने आफ्ना छोराछोरीका लागि आफू उत्कृष्ट बुबा बन्न चाहेको बताए।

स्टार्मरको बहिर्गमनसँगै लेबर पार्टीको नयाँ नेतृत्वका लागि दौड सुरु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here