लामखुट्टेको टोकाइबाट बच्न आग्रह

5
?????????????????????????????????????????????????????????

काठमाडौं । देशभर एक साताको अवधिमा १ हजार ६ सय १२ जना विभिन्न सरुवा तथा जनस्वास्थ्यसँग सम्बन्धित रोगबाट प्रभावित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको साप्ताहिक  बुलेटिनअनुसार असार ८ देखि १४ गतेसम्म सबैभन्दा धेरै ७ सय ६२ जना तीव्र झाडापखाला (एक्युट ग्यास्ट्रोएन्टराइटिस) का बिरामी भेटिएका छन् ।

सोही अवधिमा इन्फ्लुएन्जा जस्तै लक्षण देखिएका ३ सय ८२ जना, गम्भीर श्वासप्रश्वास संक्रमणका ३ सय ६५ जना, डेंगुका ६३ जना, शरीरमा बिमिरा आउने ज्वरोका १८ जना तथा स्क्रब टाइफसका १४ जना बिरामी दर्ता भएका छन् । यसबाहेक जन्डिससहितको ज्वरोका ४, इन्फ्लुएन्जाका २ र अन्य रोगका २ घटना पनि रिपोर्ट भएका इडीसीडीले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्ला केही सातादेखि झाडापखाला, श्वासप्रश्वाससम्बन्धी संक्रमण तथा डेंगुका घटनाहरू निरन्तर देखिँदै आएका छन् । यद्यपि २६ औँ इपिडिमियोलोजिकल सातामा अधिकांश रोगका केसहरू अघिल्लो साताको तुलनामा केही घटेको देखिएको छ ।

प्रदेशगत विवरणअनुसार झाडापखालाका सबैभन्दा धेरै ४१६ बिरामी बागमती प्रदेशमा भेटिएका छन् । इन्फ्लुएन्जा जस्तै लक्षण भएका बिरामीमध्ये १४७ जना सुदूरपश्चिम प्रदेशका रहेका छन् भने गम्भीर श्वासप्रश्वास संक्रमणका ९६ जना बागमती प्रदेशमा रिपोर्ट भएका छन् । डेंगुका ६३ बिरामीमध्ये २९ जना कोशी प्रदेशका रहेका छन् ।

यसैबीच, सिन्धुलीको कमलामाई नगरपालिका–८ सिस्नेरीमा आयोजित धान काट्ने मेलामा सहभागी २० जना व्यक्तिमा खाद्य विषाक्ततासँग मिल्ने लक्षण देखिएको महाशाखाले जनाएको छ ।

एउटै स्थानमा तयार गरिएको खाना तथा पेय पदार्थ सेवन गरेपछि उनीहरूमा बान्ता, पखाला, पेट दुख्ने, ज्वरो आउने र जीउ दुख्ने समस्या देखिएको थियो । प्रभावितमध्ये १७ जना महिला र ३ जना पुरुष रहेका थिए । सबैलाई उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको र हाल अवस्था सामान्य रहेको महाशाखाले जनाएको छ ।

स्वास्थ्य अधिकारीहरूले वर्षायाममा झाडापखाला, डेंगु तथा अन्य सरुवा रोगको जोखिम बढ्ने भएकाले व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग तथा लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here