स्पेनमा डढेलोमा परी कम्तीमा १२ जनाको मृत्यु

1

एजेन्सी । स्पेनको दक्षिण-पूर्वी प्रान्त अल्मेरियाको लस ग्याल्लार्डोस क्षेत्रमा लागेको डढेलोमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

यस घटनामा ६ जना घाइते पनि भएका छन् । मृतकमध्ये केही व्यक्तिहरू आगोले घेरिएका सवारीसाधनभित्र मृत अवस्थामा फेला परेका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार ढलेको विद्युत् लाइनका कारण आगलागी सुरु भएको हो र केही समयमै नजिकैका जंगलहरूमा तीव्र रूपमा फैलिएको थियो । यद्यपि, अधिकारीहरूले आगलागीको वास्तविक कारणबारे अहिलेसम्म आधिकारिक पुष्टि गरेका छैनन् ।

करिब ४० डिग्री सेल्सियस तापक्रमसहितको लगातारको गर्मी (हीटवेभ) का कारण दक्षिणी युरोपका विभिन्न क्षेत्रमा जंगलमा डढेलो फैलिरहेको छ । फ्रान्स, पोर्चुगल र स्पेनमा सयौं अग्निनियन्त्रक आगो निभाउन खटिएका छन् भने हजारौं मानिस आफ्ना घर छाड्न बाध्य भएका छन् ।

आन्डालुसियाका क्षेत्रीय प्रमुखले यस घटनालाई दुखद त्रासदीको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत जारी सन्देशमा भनेका छन्, ‘हाम्रा मन भारी भएका छन् र हामी गहिरो शोकमा छौँ ।’

आपत्कालीन सेवाका अनुसार आगलागीका कारण धेरै सडक बन्द गर्नुपरेको छ भने करिब १ हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here