काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-६ बुट्टावारी चोकस्थित अर्जुनधारा नगरपालिका-११ बस्ने दिपक राजबंशीको दिपक मोटरसाइकल वर्कसपमा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा वर्कसपमा मर्मतको लागि राखिएको स्कुटर १ थान, मोटरसाइकल १ थान, एयर कम्प्रेसर १ थान, विभिन्न औजारहरू जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-६ मसाले टोल बस्ने अर्जुन थलानको परालको थुप्रोमा गए राति आगलागी भई नजिकै रहेको पञ्चसेवा ग्यारेजमा मर्मत गर्न राखेको बा.०३- ००१ क ०३३१ नम्बरको टिपरमा समेत आगलागी हुँदा टिपरको अगाडीको भाग जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी झापा, शिवसताक्षी नगरपालिका-७ धौले चोक बस्ने ३९ वर्षीया जयन्ती राईको घरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । सुनसरी, दुहवी नगरपालिका-१२ मुस्लिम टोल बस्ने ३८ वर्षीय महमद फुल महमदको घर र नसिब मियाँको घरमा आइतबार दिउँसो आगलागी हुँदा २ वटै घरभित्र रहेको अन्नपात, भाँडावर्तन र लत्ताकपडा पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बागलुङ, गलकोट नगरपालिका-१ दुधीलाभाँटीस्थित सडकमा ध.१ प ४४१४ नम्बरको मोटरसाइकलमा आइतबार दिउँसो आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ ।
बाजुरा, बुढिनन्दा नगरपालिका-४ ताडी बस्ने गुलाब बोहरा, भिमलाल बोहरा र हिरामणी बोहराको संगै जोडिएको घरमा आइतबार बिहान आगलागी हुँदा तीनै जनाको घरमा रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर करिब ४५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित मकवानपुर हेटौंडा घर भएका सुशिला ठकुरीको फलफुल तथा तरकारी पसल र रौतहट घर भएका नवल किशोर ठाकुरको शैलुनमा आइतबार राति आगलागी हुँदा दुवै जनाको गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















