काठमाडौं । चीनको सांघाईमा बिहीबार विश्व कृत्रिम बुद्धिमत्ता सहयोग सङ्गठन (वर्ल्ड आर्टिफिसियल इन्टलिजेन्स कोपरेसन अर्गनाइजेसन– डब्लुएआईसिओ) स्थापना गर्ने सम्बन्धी सम्झौतामा २९ देशले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ब्लुएआईसिओ एक स्वतन्त्र अन्तरसरकारी अन्तर्राष्ट्रिय सङ्गठन हुनेछ, जसको मुख्यालय चीनको सांघाईमा रहनेछ । चिनियाँ सरकारका तर्फबाट चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पोलिटब्युरो सदस्य वाङ यीले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यस संगठनको मुख्य उद्देश्य कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग र विश्वव्यापी सुशासनलाई प्रवर्द्धन गर्नु हो। साथै, एआईको विकास सुरक्षित, निष्पक्ष र मानवहितमै उपयोगी हुने सुनिश्चित गर्दै यसको स्वस्थ, व्यवस्थित र जिम्मेवार विकासमार्फत सम्पूर्ण मानव समुदायलाई लाभ पुग्ने वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ ।


















