काठमाडौं । आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ।
सूर्यग्रहण त्यतिबेला लाग्छ, जब चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट गुज्रिँदा सूर्यको केही वा सम्पूर्ण प्रकाश पृथ्वीसम्म पुग्न रोक्छ । आफू पृथ्वीको कुन भागमा हुनुहुन्छ र ग्रहणका बेला चन्द्रमा पृथ्वीबाट कति टाढा छ भन्ने आधारमा देखिने ग्रहणको प्रकार फरक हुन्छ ।
सूर्य, चन्द्रमा र पृथ्वी एकै सीधामा आउँदा चन्द्रमाले सूर्यको सम्पूर्ण गोलाकार सतह ढाक्छ । त्यसलाई पूर्ण सूर्यग्रहण भनिन्छ। यस्तो अवस्थामा दिनको समयमा पनि आकाश बिहान हुनुअघि वा साँझ पर्न लाग्दाको जस्तो अँध्यारो देखिन सक्छ । पूर्ण ग्रहण त्यही क्षेत्रमा मात्र देखिन्छ, जहाँ चन्द्रमाको गहिरो छायाँ पर्ने भाग पुगेको हुन्छ । यसलाई ‘उम्ब्रा’ भनिन्छ ।
पूर्ण सूर्यग्रहणका बेला कहिलेकाहीँ सूर्यको वरिपरि चम्किलो घेरा पनि देखिन्छ । यो सूर्यको बाहिरी वायुमण्डल हो, जसलाई ‘कोरोना’ भनिन्छ । सामान्य अवस्थामा सूर्यको अत्यधिक चमकका कारण यो देखिँदैन । चन्द्रमाको बाहिरी छायाँ पर्ने क्षेत्रमा भने आंशिक सूर्यग्रहण देखिन्छ । यस अवस्थामा चन्द्रमाले सूर्यको केही भाग मात्र ढाक्छ र सूर्य अर्धचन्द्राकार जस्तो देखिन्छ । चन्द्रमा सूर्यको अगाडि आए पनि पृथ्वीबाट धेरै टाढा भएको अवस्थामा सूर्यलाई पूर्ण रूपमा ढाक्न सक्दैन। यस्तो ग्रहणलाई वलयाकार सूर्यग्रहण भनिन्छ ।
चन्द्रमाको कक्षा पूर्ण गोलाकार नभई अण्डाकार हुन्छ । त्यसैले चन्द्रमा पृथ्वीबाट सबैभन्दा टाढाको दूरीतर्फ रहेका बेला सूर्यको अगाडि आउँदा तुलनात्मक रूपमा सानो देखिन्छ । त्यस्तो अवस्थामा चन्द्रमाले सूर्यको बीचको भाग ढाके पनि वरिपरि सूर्यको चम्किलो गोलाकार किनारा देखिइरहन्छ । सूर्यग्रहण र चन्द्रग्रहण भने फरक खगोलीय घटना हुन् । चन्द्रग्रहणमा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र पृथ्वीको छायाँ चन्द्रमामा पर्छ ।
कहाँबाट सुरु हुन्छ यो ग्रहण ?
आज सूर्यग्रहण १५: ३५ ग्रीनविच समयदेखि उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागमा पूर्ण सूर्यग्रहणका रूपमा देखिनेछ । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सूर्य पूर्ण रूपमा ढाकिने ग्रहणको मुख्य चरण उत्तरी रुसको एउटा सानो र दुर्गम क्षेत्रमा दिउँसो देखिनेछ । त्यसपछि ग्रहणको छायाँ पृथ्वीमा पूर्वतर्फ सर्दै स्थानीय समयअनुसार साँझतिर स्पेन पुग्नेछ । त्यहाँ सूर्यास्त हुनुभन्दा केही समयअघि पूर्ण ग्रहण देखिनेछ । स्पेनका लियोन, जारागोजा र भ्यालेन्सियालगायतका सहरबाट पूर्ण ग्रहण देखिनेछ। उदाहरणका लागि, लियोनमा स्थानीय समयअनुसार साँझ ८:२८ बजे पूर्ण ग्रहण सुरु भई करिब दुई मिनेट रहने नासाको विवरण छ। आइसल्यान्डको रेक्जाभिकमा भने पूर्ण ग्रहण साँझ करिब ५: ४८ बजे सुरु हुनेछ।
नेपाल र एसियाबाट किन देखिँदैन ?
यति ठूलो खगोलीय घटना नेपाल र एसियाबाट किन देखिँदैन? किनकि, सूर्यग्रहण पृथ्वीको सबै स्थानबाट देखिने घटना होइन। सूर्य, चन्द्रमा र पृथ्वी एक निश्चित ज्यामितीय अवस्थामा आउँदा चन्द्रमाले सूर्यको प्रकाश छेक्छ र यसको छाया पृथ्वीको सीमित भूभागमा मात्र पर्छ।
१२ अगस्टको ग्रहणमा चन्द्रमाको ‘उम्ब्रा’ अर्थात् पूर्ण छाया उत्तरी गोलार्धको उच्च अक्षांश हुँदै जानेछ। नासाको ग्रहण नक्साङ्कनमा पूर्ण ग्रहणको बाटो उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड हुँदै उत्तर आन्ध्र महासागर र स्पेनसम्म फैलिएको देखिन्छ। त्यसको बाहिर पर्ने क्षेत्रमा आंशिक ग्रहण (खण्डग्रहण) मात्र सम्भव हुन्छ।
नेपाल भने उक्त छायाको क्षेत्रमा पर्दैन। त्यसैले देशका कुनै पनि स्थानबाट आजको सूर्यग्रहण देखिने छैन। भारतबाट पनि ग्रहण देखिने छैन। भारतीय सञ्चारमाध्यमहरूले समेत अगस्ट १२ को सूर्यग्रहण भारतबाट नदेखिने र यसको सुतक/प्रभाव बार्न नपर्ने जनाएका छन्।
सूर्यग्रहणलाई प्रत्यक्ष आँखाले हेर्नु अत्यन्त जोखिमपूर्ण हुन्छ । सामान्य घामबाट जोगाउने चस्मा लगाए पनि सूर्यतर्फ सीधा हेर्नु हुँदैन । सामान्य चस्माले आँखालाई आवश्यक सुरक्षा दिँदैन। सूर्यको तीव्र प्रकाशले आँखाको दृष्टिपटलमा स्थायी क्षति पुर्याउन सक्छ ।
सूर्यग्रहण हेर्न अन्तर्राष्ट्रिय मानकअनुसारका विशेष ग्रहण चस्मा मात्र प्रयोग गर्नुपर्छ । यस्ता चस्मा सामान्य घामका चस्माभन्दा हजारौँ गुणा गाढा हुन्छन् । प्रयोग गरिने चस्मा आईएसओ १२३१२–२ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनुपर्नेछ ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले ग्रहण चस्मा लगाएको अवस्थामा समेत क्यामेराको लेन्स, दूरबिन, द्विनेत्री वा अन्य प्रकाशीय उपकरणबाट सूर्यलाई सीधा नहेर्न सुझाव दिएको छ । यस्ता उपकरणले सूर्यको प्रकाशलाई केन्द्रित गर्दा फिल्टरबाट समेत तीव्र किरण पार हुन सक्ने र आँखामा गम्भीर क्षति पुग्न सक्ने जोखिम हुन्छ ।


















