मुलुक ‘नालायक’हरूबाट ‘लफङ्गा’हरूको हातमा पुग्याे

1

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक पहिले ‘नालायक’हरूबाट शासित रहेकोमा अब ‘लफङ्गा’हरूको हातमा पुगेको र पछिल्ला घटनाक्रमले त्यसलाई पुष्टि गर्दै लगेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै नेता भूसालले फागुन २१ गतेको राजनीतिक घटनाक्रमपछि मुलुक ‘लफङ्गा’हरूको हातमा जान लागेको भनी गरेको टिप्पणी स्मरण गराए ।

‘मैले फागुन २१ को दिन सबै साथीहरूलाई भेटेपछि निष्कर्ष निकालेको थिएँ– मुलुक नालायकहरूबाट त शासित छँदै थियो, अब लफंगाहरूबाट शासित हुने भयो । त्यतिबेला मैले आफू गलत साबित हुन पाउँ पनि भनेको थिएँ,’ उनले भने, ‘तर, यहाँ साढे चार महिना जति बित्यो । आज जे देखिएको छ, त्यसले समाजमा अझ डरलाग्दो क्षति र थप राजनीतिक दुर्घटनाहरू घट्ने जोखिम बढाएको छ ।’

गत प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट पार्टीहरूले भोगेको पराजय अनपेक्षित रहेको भन्दै कसरी हारियो भन्ने अहिलेसम्म पत्तो पाउन नसकेको टिप्पणी गरेका छन् ।

‘हामी यसरी हारेका छौँ कि कसरी हाऱ्यौँ भनेर अहिलेसम्म पत्तो पाएका छैनौँ,’ नेता भूसालले भने, ‘हामीलाई यसबारे कसैले प्रश्न नगरिदिए हुन्थ्यो, घरमा श्रीमती र छोराछोरीले पनि नसम्झाइदिए हुन्थ्यो जस्तो लागेको छ । यो त्यो तहको अनपेक्षित र कतिपय अवस्थामा व्याख्या नै गर्न नसकिने पराजय हो ।’

कम्युनिस्ट दलहरूले व्यहोरेको पराजय यति अप्रत्याशित र व्याख्या गर्न कठिन रहेको उनले उल्लेख गरे ।

वर्तमान सरकार यही गतिमा थप दुई वर्ष अघि बढे मुलुकले गम्भीर संकट भोग्ने चेतावनी भूसालले दिए । उनले समग्र कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गरेर थप सशक्त रूपमा मात्र जनतामाझ जानुपर्ने आवश्यकता औंल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here