काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान भोटेकोशी, त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीसम्बन्धी विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुट्दा रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदी तटीय क्षेत्रसम्म ठूलो विनाश भएको छ।
घटनाको पृष्ठभूमि र पूर्वसूचना प्रणाली
१० भदौ बिहान ८:३७ बजे खानी तथा भूगर्भ विभागबाट ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी प्रवेश गरेको थियो।
बाढीको सूचना प्राप्त हुनासाथ महाशाखाले बिहान ९:१५ बजेदेखि नै नदी तटीय क्षेत्र र जोखिमयुक्त बस्तीका नागरिकलाई निरन्तर सतर्कता सन्देश तथा एसएमएस प्रवाह गरेको प्रतिवेदनमा जनाएको छ ।
महाशाखाले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा रसुवा, नुवाकोट, धादिङ र चितवनका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई कुल ६ लाख ७९ हजार २ सय ९५ वटा पूर्वसूचना एसएमएस (नेपाल टेलिकम: ४,३५,६३५ र एनसेल: २,४३,६६०) पठाएको जिकिर गरेको छ।
समयमै प्रवाह गरिएको यस पूर्वसूचनाका कारण धेरै नागरिकले ज्यान जोगाउन सफल भएको प्रतिवेदनमा उल्लेख छ।
बाढीको यात्रा: ८:३७ को भूकम्पदेखि देवघाटसम्मको टाइमलाइन
प्रतिवेदनमा बाढीको बहाव र विभिन्न स्थानमा पुगेको टाइमलाइन यस्तो छः
- बिहान ८:३७ बजे: ४.४ रेक्टर स्केलको भूकम्प मापन (खानी तथा भूगर्भ विभाग)।
- बिहान ८:५० बजे: भोटेकोशी स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्यांक प्राप्त हुन बन्द (८:४० को अन्तिम जलसतह १.६२ मिटर, चेतावनी तह: ६ मिटर, खतरा तह: ७ मिटर)।
- बिहान ९:०० बजे: भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना जिल्ला प्रशासन कार्यालय रसुवा र बेत्रावती जलमापन केन्द्रका कर्मचारीमार्फत प्राप्त।
- बिहान ९:१५ – ९:१६ बजे: त्रिशूली तटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउन पहिलो चरणको पूर्वसूचना तथा ६.७९ लाख एसएमएस सम्प्रेषण।
- बिहान ९:२० बजे: बेत्रावती जलमापन केन्द्र बन्द (९:२० को अन्तिम जलसतह ३.५५ मिटर; चेतावनी तह: ४.१ मिटर, खतरा तह: ५ मिटर)।
- बिहान १०:२८ बजे: बाढी धादिङ–गल्छी आसपास पुगेको र पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड तथा त्रिशूली तटीय बस्तीलाई सतर्क रहन पुनः एसएमएस प्रवाह।
- बिहान ११:२६ बजे: फुर्केखोला (मलेखु) जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको।
- बिहान ११:४३ बजे: फुर्के (मलेखु) केन्द्रमा जलसतहले खतराको तह पार गरेको र लगत्तै फुर्के खोला जलमापन केन्द्र पुलसहित बाढीले बगाएको।
- बिहान ११:५० बजे: बाढी मलेखु बजार आसपास पुगेको।
- दिउँसो १३:०० बजे: बाढीले मुग्लिन पार गरेको।
- दिउँसो १३:३५ बजे: चीनतर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेको र जोखिम कायमै रहेको सूचना पुनः सम्प्रेषण।
- दिउँसो १४:१४ बजे: कालीखोला जलमापन केन्द्रमा जलसतहले खतराको तह (१२.१ मिटर) पार गरी उच्चतम १२.३ मिटर पुगेको।
- दिउँसो १५:२० बजे: बाढी नारायणी–देवघाट क्षेत्रमा पुगेको।
- दिउँसो १६:०० बजे: देवघाट जलमापन केन्द्रमा जलसतह उच्चतम बिन्दु ६.५७ मिटर पुगेर घट्न सुरु भएको।
- साँझ १८:३० बजे: देवघाटमा बहाव सामान्य अवस्था (करिब ४ मिटर) मा फर्किएको।
बाढीको प्रमुख बहाव यात्रा तालिका
| समय | बाढी पुगेको स्थान / प्रमुख अवस्था |
| बिहान ०९:१५ बजे | भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त |
| बिहान १०:२८ बजे | धादिङको गल्छी आसपास प्रवेश |
| बिहान ११:५० बजे | धादिङको मलेखु बजार आसपास |
| दिउँसो १३:०० बजे | मुग्लिन पार गरेको |
| दिउँसो १५:२० बजे | नारायणी नदीस्थित देवघाट क्षेत्रमा प्रवेश |
४ वटा जलमापन केन्द्र ध्वस्त, २ करोड घनमिटर अतिरिक्त पानी
बाढीको तीव्रता यति उच्च थियो कि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहत सञ्चालित विभिन्न ४ वटा जलमापन केन्द्रहरू बाढीले बगाएको छ ।
महाशाखाका अनुसार, रसुवा भोटेकोशी केन्द्र, रसुवा स्याफ्रुबेँसी केन्द्र, नुवाकोट बेत्रावती केन्द्र र धादिङ मलेखु (फुर्के) केन्द्र पुलसहित बगेका हुन् ।
केन्द्रहरू ध्वस्त भएका कारण त्यस क्षेत्रहरूको प्रत्यक्ष जलसतह तथ्याङ्क प्राप्त हुन नसकेको प्रतिवेदनमा जनाइएको छ।
प्राविधिक आँकलनअनुसार देवघाट केन्द्रबाट मात्रै बाढीको अवधिभर करिब २ करोड घनमिटर अतिरिक्त बहाव पार भएको देखिएको छ। महाशाखाले रसुवागढी नाकादेखि नेपाल–भारत सीमासम्मको क्षेत्रलाई अति उच्च जोखिम, उच्च जोखिम र मध्यम जोखिम क्षेत्रका रूपमा नक्सांकन गरी सतर्कता अपनाउन निर्देश गरेको छ।


















