बाढीपछि मानवीय सहयोग प्राप्त हुने क्रम बढ्दाे

6

काठमाडौँ। भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीपछि अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक तथा मानवीय सहयोग प्राप्त हुने क्रम बढेको प्रधानमन्त्री बालेन शाहले बताएका छन् ।

प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार एसियाली विकास बैंक (एडीबी) बाट बजेटरी सहयोगस्वरूप ५ मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने प्रतिबद्धता आएको छ । त्यस्तै, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट १ मिलियन अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता आएको उनले जानकारी दिएका छन् ।

एडीबीले प्राविधिक सहायताका लागि थप १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

मानवीय सहायतातर्फ भारत सरकारबाट हालसम्म चार चरणमा गरी कुल ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको प्रधानमन्त्री शाहले बताएका छन् । चीन र अमेरिकाबाट पनि सोही प्रकृतिको सहायता आउने क्रममा रहेको उनले जानकारी दिएका छन् ।

बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलको पुनःस्थापनाका लागि समेत अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको छ । चीनसँग ३० वटा बेलीब्रिज सहयोग माग गरिएको छ भने भारतले आइतबार २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको प्रधानमन्त्री शाहले बताएका छन् । भारतले थप सात वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको पनि उनले जानकारी दिएका छन्।

 

त्यस्तै, स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसङ्घमार्फत खर्च हुने गरी १ मिलियन स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको प्रधानमन्त्री शाहले जनाएका छन्।

विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले सरकारको प्रयासमा थप बल पुगेको उनको धारणा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here