किएभ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि आक्रमण नगर्न आदेश दिएका छन् । यो कदम अमेरिकी दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँगको सम्पर्क तयारीसँग जोडिएको क्रेमलिन प्रवक्ता दिमित्रि पेस्कोभले शनिबार बताएका छन् ।
“उहाँहरूले राष्ट्रपति पुटिनसँग भेट वार्ता गर्नुहुनेछ । सामान्यतया विगतमा यस्ता भेटहरू निकै लामो हुने गरेका छन् । हामी पर्खेर हेरौँ। यसबारे हामी छिट्टै तपाइहरूलाई जानकारी गराउनेछौँ,” पेस्कोभले पत्रकारसँगको कुराकानीमा भने ।
पेस्कोभले समाधान प्रस्तावबारे अनुमान नलगाउन आग्रह गर्दै पुटिन र अमेरिकी वार्ताकारहरूबीचको भेटको परिणाम पर्खन आग्रह गरे ।
विट्कफ र कुश्नर शनिबार स्थानीय समयअनुसार दिउँसो १२ः५२ बजे मस्कोको भ्नुकोभो विमानस्थलमा अवतरण गरेका थिए । उनीहरूलाई विमानस्थलमा रूसका विशेष राष्ट्रपतीय दूत किरिल दिमित्रिएभले स्वागत गरे ।


















