काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बाढी तथा विपतका वेला ज्यान जोखिममा राखेर नागरिकको उद्धार, खोजी र सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको उच्च प्रशंसा गरेका छन्।
राष्ट्रसेवक सुरक्षाकर्मीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले नुवाकोटको विदुर–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा बाढी पसेका वेला सुरक्षाकर्मीले देखाएको साहसलाई उदाहरणीय घटनाका रूपमा प्रस्तुत गरे।
उनका अनुसार कारागारमा रहेका ९२३ कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका कमान्डरसहित ५२ जना सुरक्षाकर्मीले महत्वपूर्ण भूमिका खेलेका थिए। बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खालमा क्षति पुर्याउँदै परिसरमा लेदो पसिसकेको अवस्थामा समेत सुरक्षाकर्मीले कैदीबन्दीलाई माथिल्लो भवनमा सारेका थिए।
बाढीको मौका छोपेर पर्खाल र गेट तोडेर करिब १०० मिटर टाढासम्म भागेका ५० कैदीबन्दीलाई समेत सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएको प्रधानमन्त्रीले बताए। कैदीबन्दीको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भए पनि उनीहरूले आसपासका स्थानीयको ज्यानसमेत जोगाएको उनले उल्लेख गरे।
प्रधानमन्त्री बालेनले सुरक्षाकर्मीका आफ्नै ब्यारेक र कार्यालय लेदोमा पुरिएको, पहुँचमार्ग अवरुद्ध भएको तथा खानेपानीको समस्या रहेको अवस्थामा पनि उनीहरू उच्च मनोबलका साथ ड्युटीमा खटिरहेको बताए।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको छ। स्थलमार्ग, हेलिकोप्टर तथा कतिपय स्थानमा घाइतेलाई काँधमा बोकेरसमेत अस्पताल पुर्याइएको उनले बताए।
बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन रहेको जानकारी दिँदै प्रधानमन्त्रीले आफ्ना साथी गुमाएको पीडाका बाबजुद सुरक्षाकर्मी खोज तथा उद्धारमा निरन्तर खटिरहेको बताए।
प्रधानमन्त्रीका अनुसार अहिले बाढी प्रभावित क्षेत्रमा ९ हजार २८७ नेपाली सेना, ७ हजार ९७५ नेपाल प्रहरी र ४ हजार २०३ सशस्त्र प्रहरी परिचालन भएका छन्।
नेपाली सेनाले नुवाकोटको त्रिशूली बट्टार र रसुवाको धुन्चेबाट फरवार्ड हेडक्वार्टर, मेडिकल टिम तथा एयर बेस सञ्चालन गरी उद्धारलाई तीव्रता दिएको छ। सेनाले बाटो खुलाउने तथा बेलिब्रिज र एक्रो ब्रिज निर्माणको कामसमेत गरिरहेको प्रधानमन्त्रीले बताए।
नेपाल प्रहरीले खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन, घाइतेको उद्धार र शान्ति सुरक्षामा अग्रपंक्तिमा रहेर काम गरिरहेको उनले बताए। तालिमप्राप्त कुकुरसहितको टोलीसमेत खोज तथा उद्धारमा परिचालन गरिएको छ।
त्यस्तै, सशस्त्र प्रहरीले विशेष तालिमप्राप्त गोताखोर, डोरी उद्धार टोली, ड्रोन तथा केनाइन टोली परिचालन गरी जोखिमपूर्ण क्षेत्रमा खोज तथा उद्धार गरिरहेको प्रधानमन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री बालेनले सुरक्षाकर्मीको त्याग, निष्ठा र अदम्य साहसका कारण संकटको समयमा लाखौँ नागरिकले सुरक्षित महसुस गर्न पाएको बताए। कार्यक्षेत्रमा खटिने प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने र उनीहरूको सेवा, सुरक्षा तथा सुविधामा सरकारले सम्झौता नगर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
संकटको समयमा सुरक्षाकर्मीलाई कर्तव्यमा खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति पनि प्रधानमन्त्रीले आभार व्यक्त गरे। संकट व्यवस्थापनमा सुरक्षाकर्मीसँगै खटिएका देश तथा विदेशका विज्ञलाई धन्यवाद दिँदै उनले भने, ‘राष्ट्रसेवक सुरक्षाकर्मीज्यूहरू, तपाईंहरूप्रति हामी सधैँ कृतज्ञ रहनेछौँ।’


















