दीपक साहलाई मन्त्री बनाउनेबारे रबि अनभिज्ञ

2

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानलाइ दीपक साहलाई मन्त्री बनाएकाे खबर अनभिज्ञ रहेकाे खबर बाहिरिएकाे छ ।

निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवसँग प्रधानमन्त्री बालेन शाह असन्तुष्ट  भएकाे जानकारी रास्वपा सभापति रवि लामिछानेलाई थाहा भए पनि आफ्नो कोटाबाट विगतमा गौरीकुमारी मन्त्री बनेको, तर उनलाई हटाएर बिहीबार नयाँ मन्त्री ल्याउँदा आफूलाई एक बचन नसोधिएको विषयलाई नोटिसमा लिएका छन् ।

प्रधानमन्त्री कार्यालय तथा रास्वपा उच्च स्रोत दुवैले नयाँ मन्त्री नियुक्तिको विषयमा रवि पूर्णतः जानकारीबाहिर रहेको, शपथभन्दा अगाडि जानकारी गराइएको पुष्टि गरेका छन् । रास्वपाकाे  स्रोतका अनुसार, ‘को मन्त्री बनाउने हटाउने भन्ने विषय प्रधानमन्त्रीको प्राथमिक अधिकारको विषय हो भन्नेमा सभापतिज्यूमा अलमल छैन । तर मन्त्री चयनजस्तो महत्त्वपूर्ण निर्णयमा पार्टी सभापति जानकारीबाहिर रहने अवस्था आउनु सही तरिका भएन ।’
प्रधानमन्त्री कार्यालयले भन्यो, ‘गौरीकुमारीजीको पर्फर्मेन्स ठिक चलिरहेको छैन भन्नेमा रवि दाइलाई हामीले यसअघि नै भनिसकेका थियौं । पछिल्ला घटनाहरू देखिबुझिसकेपछि उहाँ पनि अब हटाउनुपर्छ भन्नेमा सहमत नै हुनुहुन्थ्यो । नयाँ मन्त्रीको बारेमा चाहिँ शपथग्रहणभन्दा केही अगाडि जानकारी गराएका हौं । नियुक्ति त प्रधानमन्त्रीको विषय हो । गल्ती भएपछि जहाँबाट भएको हो, त्यहीँबाट करेक्सन गर्नुपर्ने हुन्छ । हामीले त्यही करेक्सन्मात्र गरिदिएको हो ।’

अमेरिका-इरान युद्धका कारण पश्चिम एसियामा ग्यास तथा पेट्रोलियम लगायत संकट थपिँदै जाँदा त्यसको असर नेपालमा पनि परेको थियो । मन्त्री यादव आउँदै गर्दा नेपाल त्यसअगावै अभाव झेलिरहेको थियो । तर प्रधानमन्त्री कार्यालयको बुझाइमा उनले त्यसलाई पूर्णतः टार्न नसके पनि न्यूनीकरण गर्न असमर्थ भइन् । अनि बालेन आफैंले एक्सन् लिएका हुन् ।

‘कतिजना मन्त्री सुरुमा कमजोर हुन्छन्, बिस्तारै फर्म (लय) मा आउँछन् । उहाँहरूलाई बलियो बनाउन कहिले सचिव हटाइदियौं, कहिले अनुकूलको प्रशासन बनाइदियौं,’ प्रधानमन्त्री बालेन निकट उच्च स्रोतले भन्यो, ‘तर केही गर्दा पनि पर्फर्मेन्स सुध्रेन । अनि अस्ति जेपायो त्यही बोलेपछि त अब हटाउने विकल्प नै रहेन । उहाँ गइसकेपछि को नयाँ आयो भन्ने विषय ठूलो होइन, अब काम कसरी हुन्छ भन्ने विषयमात्रै ठूलो हो ।’

पार्टी सभापति र प्रधानमन्त्रीबीच शक्तिसन्तुलन बनाइराख्ने पर्याप्त कोसिस भइरहेको, तर कहीँ न कहीँ ग्याप रहेको बुझाइ दुवै पक्षको छ । नेताहरुले आफूलाई अलग पक्ष भनी चित्रण नगर्न अनुरोध गर्दै आइरहे पनि आन्तरिक तहमा स्वयं उनीहरु त्यसरी प्रस्तुत हुने गरेको देखिन्छ ।

मन्त्री लगायत कतिपय नियुक्तिमा सभापति लामिछानेको स्वाभाविक चासो रहेको, तर सरकारी पक्षले बोधार्थ दिनेमा सीमित राख्दै आएको, पछिल्ला दिनमा त्यही जानकारी पनि खासै दिन छाडेको रास्वपा पार्टी पंक्ति ठान्छ । ‘पुराना पार्टीमा राज्यसत्ता कि पार्टीसत्ता बलियो भन्ने झगडा हुन्थ्यो, हाम्रोमा त्यो नहोस् भन्ने हो, तर बिस्तारै त्यो पनि सुरु होलाजस्तो देखिन्छ,’ लामिछाने निकट नेताले जनाए ।

ती नेताका अनुसार विगतमा सीके राउत निकट हुँदै रास्वपा आएका नयाँ मन्त्री साहको पृष्ठभूमिबारे पार्टीभित्र प्रश्नहरु छन् ।

ती नेताले यो पनि भने कि प्रधानमन्त्रीले सभापतिलाई एक बचन सोधेको भए उनी हालका संसदीय दल उपनेता गणेश पराजुलीलाई अघि सार्ने तयारीमा थिए । तर रवि लामिछानेको कोटामा रहेको एउटा मन्त्रालय पनि अन्ततः बालेन पक्षले आफूसँगै राखिदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here