उदयपुर । उदयपुरमा प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ। दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा बोलेरो गाडीसहित एक युवकलाई नियन्त्रणमा लिन सफल भएकाे थियाे भने अन्य संलग्न व्यक्तिहरू अझै फरार रहेका छन्।
जिल्लाको चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार-बेल्टार भित्री सडकखण्डबाट प्रहरीले ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको हो।
त्यस्तै, कटारी नगरपालिका-६ स्थित सागुरी पुलनजिकैको जंगलबाट प्रहरीले थप १०० किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कटारीबाट आइतबार राति १०ः२० बजे खटिएको प्रहरी टोलीले पाँचवटा बोरामा राखिएको गाँजासहित ताप्ली गाउँपालिका-२ का करिब २२ वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ भने बोलेरो गाडीसहित गाँजा बरामद भएको घटनाबारे पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।


















