प्रशान्त डंगाेल
काठमाडौं । नेपाली र नेपालभाषाबीचको भाषिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपालको बहुभाषिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले संकलित ‘नेपाली–नेपालभाषा शब्दकोश’ सार्वजनिक गरिएको छ। भाषा संरक्षणलाई सांस्कृतिक अधिकार, सामाजिक न्याय र समावेशी राष्ट्र निर्माणसँग जोड्दै आयोजित कार्यक्रममा शब्दकोश विमोचन गरिएको हो।
नेपाली–नेपालभाषा शब्दकोश विमोचन प्रकाशन समितिको आयोजनामा राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठको प्रमुख आतिथ्यमा विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा शब्दकोश विमोचन गरेका हुन्। महनी, नेपाल संवत् ११४७ तथा सुन्तीको शुभकामना आदानप्रदानका अवसरमा आयोजित कार्यक्रमले भाषिक विविधताको सम्मान र संरक्षणको सन्देशसमेत प्रवाह गरेको थियो।
शब्दकोशका संकलक सुरेन्द्र महर्जन हुन्। लामो समयको अध्ययन, अनुसन्धान, मेहनत र लगनशीलताबाट तयार पारिएको यस शब्दकोशले नेपाली र नेपालभाषाबीच शब्दार्थको आदानप्रदानलाई सहज बनाउनुका साथै भाषिक ज्ञानको पुस्तान्तरण, शैक्षिक विस्तार तथा अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले भाषा संरक्षण, संवर्द्धन र विकासका लागि शब्दकोश प्रकाशन महत्त्वपूर्ण रहेको बताए। उनले यस प्रकाशनले नेपाली र नेपालभाषाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपालको बहुभाषिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
संकलक महर्जनले शब्दकोश निर्माणमा सहयोग पुर्याउने नेपाल प्रज्ञा–प्रतिष्ठान, स्थानीय तह तथा सहकर्मीहरूप्रति आभार व्यक्त गरे। शब्दकोश प्रकाशनलाई केवल शब्द र अर्थको संकलनका रूपमा मात्र नभई भाषिक ज्ञानको संरक्षण तथा दुई भाषिक समुदायबीच पारस्परिक समझदारी विस्तार गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।
कार्यक्रममा नेपालभाषाका विशिष्ट ध्वनिहरू ‘म्ह’, ‘न्ह्य’, ‘ल्ह’ र ‘न्ह’ का लागि छुट्टाछुट्टै वर्णको विकास गरी नेपालभाषाको अध्ययन, अनुसन्धान र शैक्षिक विस्तारको क्षेत्र फराकिलो बनाउन योगदान पुर्याउनुहुने सुरेन्द्र महर्जनप्रति वक्ताहरूले धन्यवाद व्यक्त गरे। भाषाको मौलिक ध्वनि र विशिष्टतालाई लिपि तथा वर्णको माध्यमबाट अभिव्यक्त गर्न सक्ने आधार निर्माण हुनु मातृभाषाको विकासका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भएको उनीहरूको भनाइ थियो।
भाषिक समानता र सांस्कृतिक अधिकारको सवाल
नेपालको संविधानले देशको बहुभाषिक यथार्थलाई स्वीकार गरे पनि व्यवहारमा सबै मातृभाषाले समान अवसर, स्रोत र संस्थागत प्राथमिकता प्राप्त गर्न नसकेको विषय भाषिक अधिकारको बहसमा महत्त्वपूर्ण रहँदै आएको छ। यस्तो सन्दर्भमा नेपाली–नेपालभाषा शब्दकोशको प्रकाशनले भाषालाई केवल सञ्चारको माध्यमका रूपमा नभई समुदायको ऐतिहासिक स्मृति, ज्ञान, संस्कृति र पहिचानको संवाहकका रूपमा बुझ्नुपर्ने सन्देश दिएको छ।
भाषिक विविधता राष्ट्रिय एकताको बाधक नभई त्यसको आधार भएको उल्लेख गर्दै वक्ताहरूले मातृभाषाको संरक्षणलाई राज्य, शैक्षिक संस्था, प्राज्ञिक निकाय र सम्बन्धित समुदायको साझा दायित्वका रूपमा लिनुपर्नेमा जोड दिए। नेपालभाषाजस्ता ऐतिहासिक भाषाको अध्ययन, अध्यापन, अनुसन्धान र पुस्तान्तरणलाई प्रभावकारी बनाउन शब्दकोश, पाठ्यसामग्री तथा अनुसन्धानमूलक प्रकाशनको विस्तार आवश्यक रहेको उनीहरूको धारणा थियो।
भाषिक समानताको अर्थ सबै भाषालाई एउटै बनाउनु नभई प्रत्येक भाषाको मौलिकता र अस्तित्वलाई सम्मान गर्दै तिनको विकासका लागि समान अवसर सुनिश्चित गर्नु हो। यस दृष्टिले नेपाली र नेपालभाषाबीचको शब्दार्थ सम्बन्ध स्थापित गर्ने शब्दकोशले भाषिक सहअस्तित्व, सांस्कृतिक संवाद र समावेशी समाज निर्माणको बहसलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, शिव शाही, रितेश मल्ल, रवि डंगोल ‘बेइमान’, राजेन्द्र डंगोल, बीएस ताम्रकार, रश्मी डंगोललगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा नेपालभाषा प्रशिक्षकहरूको उपस्थिति थियो।
नेपालको भाषिक विविधतालाई राष्ट्रिय सम्पदाका रूपमा संरक्षण गर्दै मातृभाषाको अध्ययन, प्रयोग र विकासका लागि संस्थागत पहल आवश्यक रहेको सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो। शब्दकोशको प्रकाशनले नेपाली र नेपालभाषाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै बहुभाषिक नेपालको पहिचान, भाषिक अधिकार र सांस्कृतिक न्यायको पक्षमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।


















