टोखामा जीवित देवी गणेश–कुमारीको ‘कुम:फय्के’ कार्य सम्पन्न

33

धार्मिक आस्था, तान्त्रिक परम्परा र सामुदायिक एकताको प्रतीक

प्रशान्त डंगाेल

काठमाडौं । नेपालमण्डलको उत्तरी दिशामा अवस्थित   प्राचीन बस्ती टोखामा महानवमीको साँझ जीवित देवी गणेश–कुमारीको गृहमा परम्परागत ‘कुम:फय्के’ अनुष्ठान विधिपूर्वक सम्पन्न भएको छ। टोखाको मौलिक धार्मिक विश्वास, तान्त्रिक परम्परा र सामुदायिक सामाजिक व्यवस्थासँग जोडिएको यस अनुष्ठानले नगरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई पुनः उजागर गरेको छ।
अनुष्ठानमा मुनायः, नायःमाँ, पुजारी, बाह्र थकाली तथा प्वंबाजा खलः, धिमाय् बाजा खलः र इन्द्रायणी दाफा खलःका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गणेश–कुमारीको गृहमा विशेष पूजा तथा मन्त्रपाठसहित धार्मिक विधि सम्पन्न गरिएको थियो। सो अवसरमा इन्द्रायणी दाफा खलःले विशेष बाँसुरीको धुन तथा भजन–कीर्तन प्रस्तुत गरेको थियो।
अनुष्ठानका क्रममा जीवित देवी गणेश–कुमारीबाट सहभागीहरूलाई फूल तथा प्रसाद वितरण गरिएको थियो। उपस्थित भजन खलः, धिमाय् खलः, प्वंखलः, थकाली, नायःमाँ तथा मुनमयःहरूलाई समयबजी, चतांमरी, सगुन र जलपान प्रदान गरिएको थियो।

धार्मिक आस्था र परम्परागत सामाजिक व्यवस्थाको सांकेतिक अर्थ

टोखाको मौलिक परम्परामा ‘कुमफय्के’ केवल धार्मिक पूजा–अनुष्ठानमा सीमित छैन। जीवित देवीको उपस्थितिमा बाह्र थकालीहरूलाई विशेष मन्त्रमार्फत परम्परागत नीति–नियममा आबद्ध गर्ने प्रचलनले धार्मिक आस्था, सामुदायिक अनुशासन र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई सांकेतिक रूपमा अभिव्यक्त गर्दछ।
यस अनुष्ठानले परम्परागत समाजमा धार्मिक संस्थाहरूले सामाजिक सम्बन्ध, सामुदायिक मर्यादा र सामूहिक दायित्वलाई निरन्तरता दिन खेलेको भूमिकासमेत स्मरण गराउँछ। यस अर्थमा ‘कुम:फय्के’ टोखाको अमूर्त सांस्कृतिक सम्पदा तथा पुस्तान्तरण हुँदै आएको सामुदायिक ज्ञानको जीवन्त अभिव्यक्ति हो।
‘खँद्यः जात्रा’सँगको सम्बन्ध
यस परम्परामा सहभागी थकालीहरूलाई गिद्ध एकादशीका दिन तलेजुमा आयोजना हुने ‘खँद्यः जात्रा’मा सहभागी हुन अनुमति दिइने प्रचलन रहेको छ। यसले टोखाका विभिन्न धार्मिक अनुष्ठान, परम्परागत संस्थागत संरचना र जात्राबीचको अन्तरसम्बन्धलाई उजागर गर्दछ। स्थानीय धार्मिक जीवनमा यस्ता परम्पराले समुदायबीचको सहकार्य र सांस्कृतिक निरन्तरताको आधार तयार पार्दै आएका छन्।
टोखाको सांस्कृतिक पहिचान र कूटनीतिक महत्व
नेपालमण्डलको सभ्यता, नेवाः समुदायको मौलिक ज्ञान, धार्मिक सहअस्तित्व र सामुदायिक जीवनपद्धतिको परिचय दिने ‘कुम:फय्के’ जस्ता अनुष्ठान टोखाको स्थानीय पहिचानमा मात्र सीमित छैनन्। यिनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक स्वरूपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा परिचित गराउने सम्भावना बोकेका छन्।
यस्ता सम्पदाको व्यवस्थित अभिलेखीकरण, अनुसन्धान, प्रचारप्रसार तथा जिम्मेवार सांस्कृतिक पर्यटनमार्फत टोखाको ऐतिहासिक पहिचानलाई व्यापक रूपमा प्रस्तुत गर्न सकिन्छ। यसले स्थानीय संस्कृति र राष्ट्रिय पहिचानबीचको सम्बन्ध बलियो बनाउनुका साथै सांस्कृतिक कूटनीतिमार्फत नेपालमण्डलको मौलिक सभ्यतालाई विश्वसमक्ष चिनाउने आधारसमेत निर्माण गर्न सक्छ।
टोखाको ‘कुम:फय्के’ कार्य जस्ता परम्पराको संरक्षण गर्नु विगतको स्मरण मात्र होइन, भावी पुस्तालाई आफ्नो इतिहास, मौलिक ज्ञान र सांस्कृतिक पहिचान हस्तान्तरण गर्ने दायित्व पनि हो। धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक विविधताको सम्मान गर्दै यस्ता अमूर्त सम्पदाको संरक्षण तथा पुस्तान्तरण गर्नु आजको महत्वपूर्ण आवश्यकता हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here