ऐतिहासिक नगरी टोखामा खँद्यः जात्रा सम्पन्न

46

सांस्कृतिक सम्पदा, धरोहरले सुसज्जित  प्राचीन नगरीको सामर्थ्य र एकताकाे प्रतिक

प्रशान्त डंगाेल

कार्तिक ५ गते बिहिवार टोखा, काठमाडौं।
काठमाडौंको ऐतिहासिक एवं सांस्कृतिक नगरी टोखामा परम्परागत खँद्यः  जात्रा हर्षोल्लासका साथ सम्पन्न भएको छ।

एकादशीका दिन बिहान आयोजित उक्त जात्रामा जीवित देवी गणेश, कुमारी, मूनायः, नायःमाँ, बाह्र थकाली, पुजारी तथा इन्द्रायणी दाफा खलः, प्वँ खलः र नायखिँ बाजा खलःको समष्टिगत उपस्थिति रहेको थियो।

जात्राको मुख्य आकर्षणका रूपमा जीवित देवी गणेश, कुमारी बाह्र थकालीहरुलाई तलेजु भवानीको मन्दिरमा विराजमान गराई तान्त्रिक एवं परम्परागत विधिपूर्वक पूजाअर्चना गरिएको थियो।

पुजा पश्चात्  बाह्र  थकाली हरुलाई फुलले सजाइएकाे बासकाे खँद्य:(खड्ग रथ) भित्र खड्ग राखेर हस्तान्तरण गरियाे ।

तत्तपस्चात थकालीहरु क्वाख: दरवारबाट खँद्य बाेकेर यँसि, नारायण द्य: परिक्रमा गरेर क्वाख: पिखालुखिमा सवार भइ राेलक्रम अनुसार विराजमान भए ।

पुजारिले विधिवत पुजा अ‍ाजा गरेर भइफसि मार हाने लगत्तै  सम्पूर्ण थकालिहरु डगुरेर क्वाख: दरवारमा प्रवेस गरे।सम्पूर्ण थकाली हरुले खँद्य: क्वाख: दरवारमा पुजारिलाई हस्तान्तरण गरे पश्चात्  बाह्र थकालिहरुले जिवित देवी गणेश कुमारीबाट प्रसाद ग्रहण गरे।

विगत ८०-९० वर्ष पहिले याे जात्रा मध्यरातमा सञ्चालन गर्ने चलन थियाे। समयक्रमसँगै एकादशीको बिहान गर्ने गरिए तापनि मूनायः हेमराज श्रेष्ठको पहिलो कार्यकालमा यसलाई पुनः मध्यरातमै ब्युँताइएको थियो। यद्यपि, हालका वर्षहरूमा भने यो जात्रा सहजताका लागि बिहान नै सम्पन्न गरिँदै आएको छ।

प्राचीन राज्यको सार्वभौमसत्ता र सामर्थ्यको प्रतीक
राजनैतिक इतिहासको कडीका रूपमा यो जात्राले टोखा विगतमा एक बलियो, संगठित र शक्तिशाली राज्य भएको अकाट्य प्रमाण प्रस्तुत गर्छ। लोकबोलीमा प्रचलित “चार सय टोखा, सात सय फेरा” भन्ने उक्तिले प्राचीन कालमा टोखा राज्यको भौगोलिक विस्तार र यसको राजनैतिक प्रभाव कति विशाल थियो भन्ने दर्शाउँछ। जात्रामा प्रयोग हुने खँद्यः ले राज्यको सैन्य शक्ति, रक्षा रणनीति र राजकीय सत्ताको प्रतिनिधित्व गर्छ। तसर्थ, यो जात्रा केवल धार्मिक अनुष्ठान मात्र नभई टोखाको ऐतिहासिक राजनैतिक विरासत र शासकीय सुदृढताको उत्सव पनि हो।

जीवन्त परम्परा र सामूहिक पहिचान
सांस्कृतिक रूपमा यो जात्रा नेवा: समुदायको तान्त्रिक पद्धति र अमूर्त सांस्कृतिक धरोहरको जीवन्त नमुना हो। जीवित देवी गणेश र कुमारीको साधना, तलेजु भवानीसँगको सम्बन्ध र विभिन्न रैथाने बाजागाजा दाफा खल:, प्वँ खल:, नायखिँ खल: को समिश्रणले टोखाको विशिष्ट सांस्कृतिक कलालाई उजागर गर्छ। समयको बहावसँगै मध्यरातबाट बिहान सञ्चालन गर्ने गरिएका परिवर्तनहरूले परम्पराको गतिशीलतालाई देखाउँछन्। यो जात्राले टोखावासीहरूमा पुस्तौँदेखि कायम रहेको आस्था, एकता, त्याग, तपस्या, बलिदान र आफ्नो संस्कृतिप्रतिको अगाध योगदानलाई प्रस्ट्याउँछ, जसले स्थानीय समाजलाई एउटै भावनात्मक सूत्रमा बाँधेको छ।

सांस्कृतिक कूटनीति र पर्यटनको आधार
सांस्कृतिक कूटनीतिका (Cultural Diplomacy) हिसाबले खँद्यः जात्रा टोखालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने एक बलियो माध्यम बन्न सक्छ। प्राचीन राज्यको इतिहास बोकेको यस्तो दुर्लभ खड्ग जात्राले नेपालको आन्तरिक बहुसांस्कृतिक पहिचानलाई मात्र बलियो बनाउँदैन, बल्कि बाह्य विश्वका अनुसन्धानकर्ता र पर्यटकहरूलाई आकर्षित गर्ने क्षमता राख्छ। टोखाले आफ्नो यो ऐतिहासिक ओजलाई ‘हेरिटेज टुरिजम’ (सम्पदा पर्यटन) सँग जोडेर अन्य नगरपालिकाहरू र अन्तर्राष्ट्रिय सहरहरूसँग भगिनी सम्बन्ध (Sister-City Relationship) सुदृढ गर्न सक्छ। यो जात्रा टोखाको ऐतिहासिक गौरवलाई विश्वसामु प्रस्तुत गर्ने कूटनीतिक औजारसमेत हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here