काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा हुने २६औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८३ माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ।
क्लबले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो। हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगिता पोखरा महानगरपालिकाको संरक्षकत्वमा आयोजना हुनेछ।
पोखराको फुटबल विकास, खेलकुद प्रवर्द्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको क्लबले जनाएको छ। प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद पर्यटन गन्तव्यका रूपमा चिनाउन योगदान पुर्याउँदै आएको छ।
प्रतियोगिताका लागि मुख्य प्रायोजक, सहप्रायोजक, सहयोगी संघसंस्था, खेलप्रेमी, सञ्चारकर्मी, दर्शक तथा शुभेच्छुकबाट निरन्तर सहयोग र सहभागिताका लागि सहारा क्लबले आग्रह गरेको छ।


















