झापा । प्रहरीले झापाको चिया बगानबाट ५५७ केजी गाँजा बरामद गरेको छ । जिल्लाको मेचीनगर नगरपालिका– ५ सिर्जना चोकस्थित चिया बगानबाट ५५७ केजी अवैध गाँजा बरामद गरिएको हो ।
शुक्रबार बिहान स्थानीय टेकेन्द्र थापाको व्यक्तिगत चिया बगानमा १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजाको प्लास्टिकसहित तौल गर्दा ५६२ केजी ८०० ग्राम र प्लास्टिकबाहेक ५५७ केजी रहेको प्रहरीको भनाइ छ ।
उक्त गाँजा बरामद गरी आवश्यक मुचुल्का सम्पन्न गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















