मुम्बई । रणवीर कपूर अभिनीत चलचित्र ‘रामायण पार्ट १’ ले प्रदर्शनको पाँचौँ दिन सोमबार भारतमा १०७.५० करोड भारु खुद कमाइ गर्दै अहिलेसम्मकै उच्च एकदिने रेकर्ड कायम गरेको छ। २३ हजार ९११ शोमा यो कमाइ भएको हो।
यससँगै यो चलचित्रले कुनै पनि भारतीय चलचित्रले पहिलो सोमबार हासिल गरेको अहिलेसम्मकै ठुलो कमाइको कीर्तिमान बनाएको छ। यसअघि रणवीर सिंह अभिनीत ‘धुरन्धर २’ ले पहिलो सोमबार ६० करोड भारु खुद कमाएको थियो।
त्यस्तै हैदराबादमा १६२ शोमा ७७.५ प्रतिशत, मुम्बईमा ९३९ शोमा ६९.३ प्रतिशत र दिल्ली–एनसीआरमा १ हजार १०९ शोमा ७२.५ प्रतिशत अकुपेन्सी रेकर्ड भएको छ। कन्नड र तेलुगु संस्करणको अकुपेन्सी क्रमशः ७९.८ प्रतिशत र ५२.८ प्रतिशत रहेको छ।
पहिलो सोमबार बलियो प्रतिक्रिया पाएपछि यो चलचित्रले बक्स अफिसमा आफ्नो गति कायम राख्ने अपेक्षा गरिएको छ। नितेश तिवारीको निर्देशन र नमित मल्होत्रा तथा यशको निर्माणमा बनेको यस चलचित्रमा रणवीर कपूरले भगवान् राम, यशले रावण, साई पल्लवीले सीता, रवि दुबेले लक्ष्मण, अरुण गोविलले राजा दशरथ, इन्दिरा कृष्णनले कौशल्या, लारा दत्ताले कैकेयी, शीबा चड्ढाले मन्थरा, राकुलप्रित सिंहले शूर्पणखा र काजल अग्रवालले मन्दोदरीको भूमिका निर्वाह गरेका छन्।


















