बाँके । कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक पढ्दै गरेका नेपालगन्ज उपमहानगरपालिका–१९ का वेदराज आचार्य, चेतन केसी र कोहलपुर–११ का असिम सिग्देलले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर सो रकम आर्जन गरेका हुन् । उनीहरूले उत्पादन गरेको सबै फूल बिक्री भइसकेको छ ।
फूलखेतीबाट तिहारको खर्च जुटेको बताउँदै व्यवसायी सिग्देलले यसपटकको अनुभवबाट आगामी वर्ष फूलखेती बढाएर दोब्बर गर्ने योजना पनि सुनाए । उनले यसपटक आफूहरूलगायत अन्य युवाले विभिन्न ठाउँमा गरेको फूलखेतीबाट भारतबाट आयात हुने फूललाई पूर्ण रूपमा विस्थापित गर्न सफल भएको बताए ।
अर्का व्यवसायी वेदराज आचार्यले थोरै मिहिनेत र लगानीबाट पनि राम्रो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने कुरा फूलखेतीले प्रमाणित गरेको बताए । उनले रु ४०० किलो फूल बिक्री गरेको जनाउँदै अझै पनि माग भइरहेको सुनाए ।
उनका अनुसार जिल्लामा यस वर्ष सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती गरिएको छ । पहिलोपटक यस वर्ष भारतीय फूल आयात रोक्न धेरै हदसम्म सफलता मिलेको छ । फूलखेती गरेका किसानले नेपालगन्जको त्रिभुवनचोक, धम्बोझीचोक र कोहलपुरका विभिन्न स्थानमा फुटकर बिक्री केन्द्र खोलेर फूल बिक्री गरेका थिए ।


















