काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गरेका छन्।
शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा चीन भ्रमणको तयारी, उठाइने एजेन्डा तथा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको हो।
चीनको प्रविधि, आर्थिक विकास र विभिन्न क्षेत्रमा हासिल गरेको अनुभवबाट नेपालले लाभ लिन सक्ने विषयलाई भ्रमणका क्रममा प्राथमिकतामा राख्न निर्देशन दिएको जानकारी प्रमुख सचेतक बुर्लाकोटीले दिए। भेटका क्रममा प्रधानमन्त्री शाहको भनाई उद्धृत गर्दै उनले भने, ‘नेपाल र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउन यो भ्रमण फलदायी हुनुपर्छ। भ्रमण केवल घुमघाममा सीमित नभई आर्थिक साझेदारी र विकासका सम्भावना खोज्न केन्द्रित हुनुपर्छ।’
साे भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरु लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा।राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रमेश सापकोटा रहेका छन् ।


















