प्रधानन्यायाधीश शर्मा र फुयाल इजलासमा सामेल

11

काठमाडौं । इनम सापकोटाको ह्वाट्सएप म्यासेज लिक भएर नाम जोडिएपछि बिदामा बसेका सर्वोच्च अदालतका न्यायाधीशहरु तिहार बिदा सकिएपछि इजलासमा फर्किन थालेका छन् ।

प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयाल मंगलबार इजलासमा सामेल भएका हुन् ।

प्रधानन्यायाधीश डा. शर्मा नवनियुक्त न्यायाधीश डा. रत्नबहादुर बागचन्दसँग संयुक्त इजलासमा छन् भने अर्का न्यायाधीश हरि फुयाल नवनियुक्त न्यायाधीश गोकर्ण डाँगीसँग संयुक्त इजलासमा मुद्दाको सुनुवाइ गरिरहेका छन् ।

इनम सापकोटाको ह्वाट्सएप म्यासेज सार्वजनिक भएपछि प्रधानन्यायाधीश डा. शर्मा र न्यायाधीश फुयाल केही दिन इजलासमा सामेल थिएनन् । शर्मा अदालत उपस्थित भएर पनि इजलास नलिएर न्यायप्रशासनका अरु काममा संलग्न थिए भने फुयालले तिहार अघिसम्म बिदा लिएका थिए ।

तीन साताअघि इनम सापकोटाको ह्वाट्सएप म्यासेजबाट प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयालको नाम जोडिएको विवरण सार्वजनिक भएको थियो ।

विचौलियाको काम गरेको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइल लगायतका ग्याजेटमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । सापकोटाले कुनै व्यक्तिलाई ‘गुड मर्निङ म्याम’ भन्दै आफ्ना नातेदारको नाममा रकम डिपोजिट गरिदिन भन्दै खाता नम्बर आदानप्रदान गरेका थिए ।

ल्याबले विभागमा पठाएको विवरणको त्यही पेजमा प्रधानन्यायाधीश डा. मनोज शर्मा, विश्वराज पोखरेल (ओखलढुंगा) र वंशी दाहाल (आईजी–एपीएफ) सशस्त्र प्रहरी बलको आईजी भनी उल्लेख भएको थियो ।

त्यसका साथै सापकोटाले सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालसँग सम्वाद गरेको विवरण समेत त्यति नै बेला सार्वजनिक भएको थियो । शुरुमा सापकोटाले ‘यसलाई रोक्ने है त हजुर’ भनी रोहित गुप्तालाई थुनामै राख्न आग्रह सहित म्यासेज पठाएका थिए । विवरण सार्वजनिक भएपछि न्यायाधीश फुयालले आफूले सापकोटालाई होटल हिमालयमा भेटेको स्विकारेका थिए ।

दुवै न्यायाधीशका साथै सामाजिक सञ्जालमा अर्का न्यायाधीश शारंगा सुवेदीको नाम पनि जोडिएको थियो । घटनापछि उनीहरुमाथि चौतर्फी प्रश्न उठेको थियो । न्यायाधीशहरुको भूमिका अध्ययन गर्न नेपाल बार एसोसिएसनले गठन गरेको समितिमा बहुसंख्यक कानून व्यवसायीहरु बस्न अस्विकार गरेका छन् ।

त्यतिबेला चौतर्फी प्रश्न उठेपछि न्यायाधीशहरु शर्मा र फुयाल इजलासमा सहभागी थिएनन् भने न्यायाधीश सुवेदी एक दिन इजलासबाट अलग भएकी थिइन् । करिव एक साता लामो तिहार र छठ बिदापछि अदालत खुल्नासाथ ती न्यायाधीशहरु इजलासमा संलग्न भएर मुद्दाको सुनुवाइ थालेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here