एआईको विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध

2

सेन्जेन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उहाँको आशङ्का छ ।

चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा बिहीबार सम्बोधन गर्दै ट्रम्पले एआईका फाइदासँगै यसका जोखिमप्रति पनि सचेत रहनुपर्ने बताउनुभयो । एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम अमेरिकालाई स्वीकार्य नहुने उहाँको भनाइ थियो ।

ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने वार्तामा एआईको तीव्र विकास र त्यसबाट उत्पन्न चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ । साइबर आक्रमण, जैविक हतियार निर्माणमा एआईको दुरुपयोग, सैन्य प्रयोग तथा सामूहिक निगरानी यस क्षेत्रका प्रमुख सुरक्षा चुनौती हुन् ।

यसैबीच, एआई एजेन्टको अनियन्त्रित प्रयोगप्रति पनि चिन्ता बढेको छ । ओपनएआईका बटहरू अस्ट्रेलियाको सरकारी पोर्टलसहित विभिन्न वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरेको घटना सार्वजनिक भएको छ ।

यसअघि ट्रम्प र सीबीच एआईसम्बन्धी घटनामा तत्काल सूचना आदानप्रदान गर्न सञ्चार संयन्त्र स्थापना गर्ने सहमति भएको थियो । सीले एआई मानव नियन्त्रणमा रहनुपर्ने र त्यसका लागि कानूनी व्यवस्था तथा प्राविधिक निगरानी आवश्यक रहेको बताउँदै आउनुभएको छ ।

उता, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एआईको विश्वव्यापी नियमन अभावले ठूलो जोखिम निम्त्याउने चेतावनी दिँदै यसका लागि अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ । एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here