काठमाडौं । अयोध्यादेखि जनकपुरधामसम्म सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटनका अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्या र मिथिलाको प्राचीन सांस्कृतिक मिलन पुनर्जीवित भएको जनाएका छन्।
उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री आदित्यनाथले भारतीय रेल्वे सेवामार्फत दुई पवित्र तीर्थस्थललाई जोडेकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे भने नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई हार्दिक स्वागत गरे।
अयोध्या धाम र जनकपुरधामबीच चल्ने रेल सेवाले दुई देशका धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ नजिक्याएको उल्लेख गर्दै उनले थपे, ‘अयोध्या धाम र जनकपुरधामबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेसमार्फत आज अयोध्या र मिथिलाको संस्कृतिबीचको पवित्र एवं प्राचीन मिलन पुनर्जीवित भइरहेको छ।‘
यो रेल सेवा सुरु भएसँगै दुवै देशका श्रद्धालुहरूलाई प्रत्यक्ष यात्रा गर्न सहज हुने उनको भनाइ छ। ‘यस रेल सेवाको सुरुवातसँगै नेपालका श्रद्धालुहरू रामललाको आशीर्वाद लिन सिधै यात्रा गर्न सक्नेछन् भने भारतका श्रद्धालुहरू माता जानकीको पूजाअर्चनाका लागि जनकपुरधाम जान सक्नेछन्,’ आदित्यनाथले भने।














