विराटनगर, २५ असोज– भारतीय सीमा सुरक्षा बलका सुरक्षा कर्मीहरुले ड्युटीमा रहेका नेपाल प्रहरीका सहायक निरीक्षक प्रदीप गिरीलाई आइतबार दिउँसो ३ बजे भारतीय सीमा सुरक्षा बलले कुटपिट गर्दै साथमा रहेको पेस्तोल लुटेर लगेका छन् ।
इलाका प्रहरी कार्यालय, रानी विराटनगरका प्रहरी सहायक निरीक्षक गिरीलाई विराटनगरस्थित भन्सार कार्यालय नजिकबाट भारत जोगवनीका सीमा सुरक्षा बलका प्रहरीले तानेर भारतीय क्षेत्रमा लगी कुटपिट गर्नुका साथै पेस्तोल खोसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनालगतै प्रजिअ गणेशराज कार्की र प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले भारतको जोगवनीस्थित सीमा सुरक्षा बलको कार्यालयमा पुगेर घटनाको सम्बन्धमा जानकारी गराएका थिए । भारतीय सीमा सुरक्षा बलका प्रहरी उपरीक्षकले घटना दुःखदायी भएको र यस विषयमा छानबिन गरिने र अबदेखि भारतीय भूमिमा प्रवेश गरेर बन्दकर्तालाई ढुङ्गामुढा गर्न नदिने प्रतिबद्धता प्रकट गरेको प्रहरीले जनाएको छ ।