काठमाडौं, कात्तिक २४ । चालिसको दशकबाट पत्रकारिता थालेका पत्रकार तथा लेखक डम्बरकुमार गिरीको मस्तिष्काघातका कारण निधन भएको छ । गिरीको आज ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
गिरीले विसं २०४०मा ‘कुटुम्ब’ साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका थिए । पत्रकारितामा अत्यन्त सक्रिय गिरी ‘भूगोल’ मासिकका सम्पादक तथा प्रकाशक पनि थिए । त्यसबाहेक उनले ‘जनता’, ‘छलफल’, लालिमा’, ‘सम्बोधन’, ‘अनुगमन’ आदि पत्रिकामा पनि काम गरेका थिए । ‘हिमालकी छोरीः पासाङ ल्हामु’, ‘युग पुरुष’, ‘विचार कुञ्ज’, ‘पवित्र क्रान्ति’, ‘ब्रह्मास्त्र’ आदि पुस्तक प्रकाशन गरेका गिरीले नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य भएर काम गरेका थिए । उनको आजै पशुपतिको आर्यघाटमा अन्त्येष्टि हुने जनाइएको छ ।