काठमाडौैं, कात्तिक २५– संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले भारतको नाकाबन्दीका नेपालको पारवहन अधिकार हनन भएको जनाएका छन् । नेपालमाथि लगाइएको नाकाबन्दीले भूपरिवेष्ठित राष्ट्रसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरुको उल्लंघन भएको उनको ठहर छ ।
महासचिव वानले नाकाबन्दीका कारण मानवीय संकट उत्पन्न भएको भन्दै तत्काल नाकाबन्दी हटाउन आग्रह गरेका छन् । महासचिव वानका प्रवक्ताले बुधबार न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको आपूर्ति व्यवस्थाको अवरोधले चिन्तित बनेको बताए । ‘महासचिव वानले भूपेरिवेष्ठित मुलुकका रुपमा नेपालले स्वतन्त्र पारवहन अधिकारको उपभोग गर्न पाउनुपर्ने कुरामा जोड दिनुभएको छ,’ वानका प्रवक्ताले भने, ‘मानवीय आधारमा पनि उहाँले सबै पक्षलाई नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गर्नुभएको छ ।’
गत वैशाखको भूकम्पले क्षति पु¥याएको नेपालमा नाकाबन्दीले झन् समस्या थपेको उनले जनाएका छन् । जाडो मौसम सुरु भएकोले भूकम्पपीडितका लागि हिमाली र पहाडी क्षेत्रमा खाद्यान्न र न्यानो कपडा पु¥याउने समस्या निम्तिएकोमा वानले चिन्ता जनाएका छन् ।