पेट्रो चाइनासँग व्यापारिक सम्झौता गर्न आज उच्चस्तरीय टोली चीन जाँदै

258

काठमाडौँ, ४ मङ्सिर । भारतीय नाकाबन्दीका कारण चरम इन्धन संकट उत्पन्न भएपछि वैकल्पीक व्यवस्थाका लागि चीनको सरकारी स्वामीत्वको पेट्रो चाइनासँग तेल ल्याउने सहमति अनुसार व्यापारिक सम्झौता गर्न आज सात सदस्यीय उच्चस्तरीय सरकारी टोली चीनतर्फ जाने भएको छ ।
टोलीले पेट्रो चाइनासँग इन्धन आयातको व्यापारिक सम्झौता गर्नेछ । नेपाललाई आवश्यक इन्धन दिन चीन तयार भएपछि नेपाली टोली व्यापारिक सम्झौताका लागि त्यस तर्फ जान लागेको हो । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले केही दिन पहिले चीनको अनौपचारिक भ्रमण गरी इन्धन आयातको विषयमा गम्भीर छलफल गरेका थिए ।

त्यसपछि औपचारीक सम्झौता गरी इन्धन आयात गर्न लागिएको हो । उच्चस्तरीय टोलिमा परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुने जनाइएको छ । वाणिज्य मन्त्रालयमा विहिबार पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री पुनले चीनसँग इन्धन आयात गर्ने व्यापारिक सम्झौता हुन लागेको र त्यसका लागि उच्चस्तरीय टोली शुक्रबार चीन जान लागेको जानकारी दिएका हुन् ।

यसअघि पेट्रो चाइनासँग इन्धन खरिदका विषयमा प्रारम्भिक सम्झौतासमेत भइसकेको छ । सो सम्झौताको आधारमा व्यापारिक सम्झौता गर्न लागिएको मन्त्री पुनले जानकारी दिए ।चीनबाट मुख्यगरी तातोपानी र केरुङ नाकाबाट इन्धन आयात गरिनेछ । गत वैशाख १२ गते गएको भूकम्पका कारण तातोपानी नाका पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । सो नाका सञ्चालन गर्ने सम्बन्धमा नेपाल सरकारले औपचारिकरुपमा चीन सरकारलाई आग्रह गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here