प्रधानमन्त्री ओलीद्वारा भारतको ६ दिने राजकीय भ्रमण सुरु

122

काठमाडौँ, ७ फागुन÷प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा ६ दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली ४६ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार दिउसो ३ बजे नेपाल वायु सेवा निगमको जहाजमार्फत दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई सभामुख ओनसरी घर्ती तथा उपप्रधानमन्त्रीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् । प्रधानमन्त्रीको बिदाईका लागि संवैधानिक निकायका प्रमुख, मन्त्रिगण, सांसद, सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, विमानस्थलमा उपस्थित भएका थिए । प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

ओलीको भ्रमण टोलीमा प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्यका साथै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल लगाएत रहेका छन् । प्रधानमन्त्री ओली फागुन ८ गते राष्ट्रपति भवनमा आयोजना गरिने विशेष स्वागत समारोहमा सहभागि हुने र भारतीय सेनाको सलामीको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीले हैदराबाद भवनमा भारतीय प्रधानमन्त्रीसँग आपसी हितका विषयमा औपचारिक बैठक गर्नेछन् । ६ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली फागुन १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here