आखिर दोस्रो जनयुद्धको घोषणा भएरै छोड्यो

230

काठमाडौं/ अब देशमा सशस्त्र युद्ध दोहोरिने सम्भावना बलियो बन्दै गएको छ । नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रिय सम्मेलनमार्फत् सशस्त्र क्रान्तिको कार्यदिशालाई जोड दिएको छ भने यसभन्दा अघि नै दश वर्षे माओवादी क्रान्तिलाई पूर्णता दिन फेरि पनि सशस्त्र क्रान्ति गर्ने उद्घोषसहित दुई माओवादी पार्टीबीच एकीकरण भएको छ ।
हेमन्तप्रकाश ओलीले नेतृत्व गरेको कम्युनिष्ट न्यूक्लियस नेपाल र भुपेन्द्र न्यौपानेले नेतृत्व गरेको नेकपा माओवादी (क्रान्तिकारी)ले जनवादी क्रान्तिलाई पूरा गर्न सशस्त्र क्रान्तिमा जाने उद्घोषसहित राजधानीमै पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गरेका छन् ।

 
एकीकरणपछि पार्टीको नाम ‘कम्युनिष्ट न्यूक्लियस नेपाल’ राखिएको छ भने पार्टीको संयोजकमा हेमन्तप्रकाश ओलीलाई चयन गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै ओलीले दलाल नोकरशाहीविरुद्ध लड्न सशस्त्र क्रान्तिको आवश्यकता रहेको दाबी गर्दै सशस्त्र क्रान्तिपछि सांस्कृतिक क्रान्ति गर्ने कार्यदिशामा दुई पार्टीबीच एकीकरण भएको स्पष्ट पारेका छन् । अहिलेको राज्यसत्ताको समानान्तर रूपमा मोडल निर्माण गर्दै अघि बढ्ने योजना सुनाउादै दुई पार्टीबीचको एकता क्रान्तिकारीहरूबीचको ध्रुवीकरणको सुरुवात भएको ओलीले उद्घोष गरेका छन् ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा (माओवादी)बीच छिट्टै आफूहरूको एकता हुने दाबी गर्दै सबै कम्युनिष्ट क्रान्तिकारी मिलेर समाज विज्ञानमा नयाा आयाम थप्ने दाबी पनि ओलीले गरेका छन् । नेकपा माओवादी (क्रन्तिकारी) का पोलिटब्यूरो सदस्य कृष्ण धमलाले प्रचण्ड र बाबुराम भट्टराईले नेपाली क्रान्तिलाई धोका दिएकोले फेरि त्यो कार्यभार पूरा गर्न सेना, अदालत, पार्टी र मोर्चा पुनर्गठन गरेर अघि बढ्नुपर्ने आवश्यकता भएको भन्दै छिट्टै ध्रुवीकरण गरेर संसद्वादीहरूविरुद्ध लड्ने उद्घोष गरेका छन् । नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका पोलिटब्यूरो सदस्य सन्देश पौडेलले माओवादी केन्द्र संसदीय भासमा फसेकोले आफूहरूले बाध्य भई विद्रोह गर्नुपरेको भन्दै सच्चा क्रान्तिकारीहरूको केन्द्र निर्माण गरेर विद्रोहको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

 
अधुरो जनवादी क्रान्तिलाई पूरा गरेर सहिद, घाइते, अपाङ्गहरूको सपना पूरा गर्ने, प्रतिक्रान्तिकारी संविधानको साटो क्रान्तिकारी संविधान समाजवादी क्रान्तिद्वारा निर्माण गर्ने, अन्तर्राष्ट्रिय कम्युनिष्ट केन्द्रको निर्माण गर्ने, दक्षिणपन्थी संशोधनवाद, नव संशोधनवाद, छद्म अवसरवाद र दार्शनिक रूपमा भडुवावादलगायतसाग लड्ने र क्रान्तिका लागि आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लगायतका सात बुादे कार्यदिशा पनि न्यूक्लियसका तर्फबाट सार्वजनिक गरिएको छ । यस्ता गतिविधिहरूले देश फेरि सशस्त्र द्वन्दमा जाने सम्भावनालाई नकार्न सकिंदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here