संघीयताको नयाँ मोडेल खोज्नुपर्ने गौतमको सुझाव

150

काठमाडौं÷ नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले मुलुकमा संघीयताको नयाँ मोडेल खोज्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । संघीयताको वर्तमान मोडेलले मुलुकमा नयाँ द्वन्द्वको सिर्जना हुनसक्ने चेतावनी उहाँले दिनुभएको छ । राजधानीमा आयोजित ‘संघीयता, समृद्धि र प्राकृतिक स्रोतसाधनको उपयोग’ विषयक विचार गोष्ठीमा उहाँले संघीयताको अहिलेको मोडेलले मुलुकलाई भङ्गालोमा लान लागेको भन्दै केही नबिग्रिदै बेलैमा संघीयताको उपयुक्त मोडेल छनौट गर्नुपर्ने धारणा राख्नुभयो ।
‘संघीयता भनेको द्वन्द्वको समाधान हो तर हाम्रो देशमा संघीयताले नयाँ द्वन्द्व सिर्जना गरिरहेको छ, यही मोडेलका कारण नेपालमा अर्को भयंकर द्वन्द्व हुन्छ,’ गौतमले भन्नुभयो । वर्तमान मोडेलको संघीयता मुलुकमा टिक्न नसक्ने दाबी गर्दै गौतमले त्यसका असरहरू अहिले नै देखापर्न थालेको दाबी गर्नुभयो ।
संविधान संशोधन विधेयकलाई अगाडि बढाउने सत्तापक्षका राजनीतिक दहरूको निर्णयले संसद्मा भीडन्तको अवस्था आउनसक्ने भन्दै गौतमले मधेश केन्द्रित दलहरू एमालेमुक्त मधेश बनाउँछौं भनेर लागिरहेका छन्, त्यस्तो सोचाइ तिनीहरूको मानसिक विचलनको उपबाहेक अरु केही नभएको दावी गर्नुभयो ।
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा युवा संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले मुलुकमा संविधान र संघीयता कार्यान्वयन हुन नदिन देशीविदेशी शक्तिहरू अहोरात्र सक्रिय रहेको कार्यक्रममा बोल्दै आरोप लगाउनुभयो ।
एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले अबको राजनीतिक समस्याको समाधान आर्थिक दृष्टिकोणबाट मात्र हुनसक्ने धारणा व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले आजको समयमा प्राकृतिक स्रोतसाधनले कुनै मुलुकको समृद्धि वा गरिबीमा महत्व हुँदैन भन्दै प्राकृतिक स्रोतसाधनको उपयोगका लागि कुशल राजनीतिक व्यवस्थापन आवश्यक रहेको धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here