चिकित्सा विज्ञानलाई चुनौती दिने भाइरस राज्यलक्ष्मी शाक्य

1074

आज पाँचौ दिन भयो, म नर्भिक अस्पतालको शैयामा उपचाररत छु । मेरो रोगसँग मेरो लडाइँ जारी छ तर मैले भन्दा मेरो रोगसँग नर्भिक अस्पतालका चिकित्सकहरूले लडाइँ लडिरहनुभएको अवस्थासँग म आश्चर्यचकित भएकी छु । पछिल्लो समय विश्वमा विभिन्न खाले रोगसंक्रामक भाइरसहरू देखा परिरहेका छन् । तिनले नयाँ–नयाँ प्रकारका रोगहरू पनि उत्पत्ति गराइरहेका छन् । यही शताब्दीमा नै स्वाइनफ्लु र बर्डफ्लु जस्ता विभिन्न संक्रामक रोगहरूका कारण मानिसहरूले मृत्युवरण गर्नुपरिरहेको छ । पछिल्ला समय मानव जातिका लागि नै चुनौती बन्दै गएका यस्ता नयाँखाले रोगहरूलाई निराकरण गर्न चिकित्सा विज्ञानलाई हम्मे–हम्मे पर्ने गरेको छ । अर्को अर्थमा भन्ने हो भने यस्ता प्रकारका समस्या चिकित्सा विज्ञानलाई नै चुनौती हुन् ।

नेपालमा पनि ती रोगहरूको असर बेलाबेलामा परेको देखिन्छ । यस्तै खालको एक प्रकारको भाइरसको सिकारका कारण म विगत पाँच दिनदेखि हस्पिटलमा उपचाररत छु । सामान्य भाइरल इन्फेक्सन सुरुमा देखिए पनि त्यो नै डाक्टरहरूका लागि अहिले चुनौती बनेको छ । सुरुमा अनुहारमा सामान्य देखापरेको भाइरल इन्फेक्सन यति चुनौतीपूर्ण बन्यो कि तीन दिनसम्म म आईसीयूमा भर्ना भएँ । त्यसपश्चात् अहिले जनरल बेडमा सरेपछि मेरो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।

यो विषयलाई मैले किन पनि उठान गरेँ भने यस्ता सामान्य भाइरसका कारण पनि धेरै व्यक्तिहरूलाई समस्या परिरहेको हुन्छ । कतिपयले त सामान्य ठानेर हेलचेक्र्याइँ पनि गर्नुहुन्छ होला । तर, शरीरमा देखिने समस्याहरूलाई हामीले सजिलै नजरअन्दाज गर्नुहुन्न भन्ने मैले पाठ सिकेको छु । मेरो समस्याप्रति मलाई हेरिरहनुभएका चिकित्सकहरूमा देखिएको चिन्ताले म चकित भएको छु । मलाई यति ठूलो भाइरल संक्रमण भएको रहेछ कि नर्भिक अस्पतालकै चिकित्सकहरूलाई असफल गराउने ?! ममाथि समस्या आउनेबित्तिकै धेरैले यससम्बन्धी विभिन्न धारणा प्रस्तुत पनि गरे । कतिपयले यसलाई ‘जनैखटिरा’ भने, कतिपयले ‘नाग लागेको’ पनि भने । त्यसका लागि तन्त्रमन्त्र जानेको व्यक्तिलाई देखाउने र समाधान खोज्ने प्रयास पनि शुभेच्छुकहरूको सुझाव बमोजिम गरेँ । तर, त्यति गर्दा पनि नभएपछि अस्पतालमा नै उपचार गर्न पुग्नु प¥यो । मलाई संक्रमण भएको भाइरलको पहिचान गर्न पनि डाक्टरहरूलाई समस्या परिरहेको छ । यो डाक्टरहरूकै असफलता अवश्य होइन । डाक्टरहरूका लागि पनि यस्तो प्रकारको भाइरस संक्रमण नौलो भएकाले मेरो शरीर नै डाक्टरहरूको लागि एउटा शिक्षा बन्न गइरहेको मैले महसुस गरेको छु ।  विभिन्न पद्धतिको प्रयोग गर्दा, रक्तपरीक्षण गर्दा पनि केही पत्ता लाग्न नसकेको हुँदा सामान्य रूपमा डाक्टरकै कमजोरी अथवा अस्पतालकै कमजोरी पनि हो कि जस्तो लाग्दोरहेछ । तर पनि त्यस्तो अवस्था अवश्य होइन भन्ने कुरामा म स्पष्ट छु । उपचारको क्रममा डा.हरिनाराण गुप्तालगायत तीनजना डाक्टरहरूले पनि भाइरसको पहिचान र समाधानको उपाय पत्ता लगाउन सक्नुभएन । त्यसपश्चात् अहिले म नर्भिक अस्पतालमा डा.सरूपा बज्राचार्य, डा.जेपी जयसवाल, डा.पंकज जलान, डा. अञ्जु कार्की र डा.यादवलगायतको टिमको  उपचारमा रहेकी छु । केही स्वस्थ भएको पनि महसुस गर्दै आएकी छु ।

मान्छे स्वास्थ्यको विषयमा सधैं नै संवेदनशील हुनुपर्ने रहेछ भन्ने यो अवस्थाबाट मैले पाठ सिकेकी छु । भनिन्छ, स्वास्थ्य नै मान्छेको ठूलो धन हो । यदि मान्छे नै अस्वस्थ छ भने उसले कुनै पनि काम गर्न सक्दैन । जतिसुकै धेरै धन भए पनि स्वास्थ्य राम्रो नभएको व्यक्ति सधैं नै दुःखी रहन्छ । त्यसकारण पनि मान्छेले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न जरुरी छ । त्यस्तै अहिले थुप्रै प्रकारका भाइरसहरूको संक्रमण पनि बढिरहेको छ । जो वास्तवमा नै चिकित्सा विज्ञानका लागि पनि चुनौती बन्दै गइरहेको छ । यस्ता भाइरसका कारण सर्वसाधारण पीडित छन् । अझ प्रदूषण र धूलोधुँवाका कारण पनि मान्छेहरूमा विभिन्न समस्याहरू देखा परिरहेका छन् । यसतर्फ सरकार, स्वास्थ्य मन्त्रालय, चिकित्सकहरू र सर्वसाधारण सबै नै सचेत बन्नु जरुरी छ । के कारण यस्ता रोगहरू देखापरेका छन् र तिनलाई निराकरणका लागि अनुसन्धानको व्यवस्था गर्न हाम्रो देशलाई कसरी सक्षम बनाउन सकिन्छ ? यसतर्पm सबैको ध्यान पुग्नु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here