कोलम्बियामा एउटा यस्तो सपिङ मल छ, जहाँ राखिएका डमी अर्थात् मूर्तिहरूले स्तनपान गराइरहेका छन् । राजधानी बोगोटामा रहेको सबैभन्दा ठूलो शपिङ मल हो सेन्ट्रो मेयर शपिङ मल । यो शपिङ मलको ठाउँठाउँमा यस्ता प्लास्टिकका मूर्तिहरू राखिएको छ । ती मूर्तिहरूमा एक महिलाले आफ्नो बच्चालाई स्तनपान गराइरहेको देखाइएको छ ।
आखिर एकजना अष्ट्रेलियाली सांसदले संसद भवनमै स्तनपान गराएर सन्देश दिन सक्छिन् भने शपिङ मलका यी डमीहरूले किन नसक्ने ? त्यसैले कुनै पनि महिलाले शपिङका बेला कुनै अप्ठेरो नमानीकन आफ्नो बच्चालाई स्तनपान गराऊन् भनेर यस्ता डमी राखिएको हो ।
कोलम्बियामा बच्चाहरूमा अपर्याप्त पोषणको समस्या धेरै रहेको छ । केबल ४१ प्रतिशत बच्चाहरूले मात्र स्तनपान गर्न पाएका छन् । उक्त शपिङ मलका सञ्चालक भन्छन्, ‘म चाहन्छु कि शपिङका बेला खुलेर स्तनपान गराउन पाइने मलका रूपमा मेरो शपिङ मलको नाम चलोस् । यो ठाउँ बच्चा र आमा दुवैका लागि आरामदायी छ ।’

















