प्रमुख दलका नेताहरूलाई नाङ्गै पारिदिने हृदयेश त्रिपाठीको चेतावनी

260

दक्षिणको सिमाना सुगौली सन्धिपछि किन बाङ्गोटिङ्गो भयो ? कोही माइकालाल छ बताउने ?

मधेश केन्द्रित राजनीति गरिरहेका दलहरूले नेपाली सेनामा किन समावेशी प्रतिनिधित्व खोज्नुभयो ?
नेपाल राज्यका अन्तरवस्तुहरू मलाई राम्रोसँग थाहा छ । निजामती सेवालाई आरक्षण दिएपछि तत्कालीन मुख्य सचिवले के भनेका थिए मलाई थाहा छ । अब बिग्रिने भयो प्रशासनयन्त्र भनेका थिए । मैले भनेको थिएँ, ‘तपाईंहरूले बनाउनुभएको प्रशासनयन्त्र यही होइन र ?’ एउटा जाति र वर्गको कब्जामा हुँदा मात्रै राम्रो हुने नत्र नहुने ? अहिले नेपाली सेना पनि चरित्रअनुसार राष्ट्रिय बन्न सकेको छैन । प्रतिनिधि सभाले मेरै सङकल्प प्रस्ताव २०५३ सालमा पारित गरेको छ ।
सुरक्षा अङ्गमा समावेशी खोज्न मिल्छ ? यो त राष्ट्रिय हितका लागि बनाइएको हो नि !
एकदम मिल्छ । एउटा समूहले वा नश्लले मात्रै राष्ट्रिय हित गर्न सक्छ ? जुन बेला तराईमा औलो उन्मूलन भएको थिएन, त्यसबेला त्यहाँ कोही जान सक्दैनथ्यो । त्यसबेला कसले गरेको थियो सीमाको सुरक्षा ? त्यही मधेशी र थारुहरूले गरेका थिए । राणाकालमा १४ कोषसम्म प्रहरी देखापर्दैनथे । त्यसबेला पनि सिमाको रक्षा मधेशीहरूले गरेका थिए । जब औलो उन्मूलन भयो, मधेश सुगम भयो, अनि मात्रै राज्यको उपस्थिति देखिएको हो । त्यसैले इतिहासप्रति बेइमानी गर्न हुँदैन ।
देश बनाउनका लागि खस र आर्यको भूमिका छैन ?
भूमिका छ, स्वीकार गर्छु । सम्मान गर्छु । तर अरुको भूमिका इन्कार गरेकोमा म घृणा गर्छु । दक्षिणको सिमाना सुगौली सन्धिपछि किन बाङ्गोटिङ्गो भयो ? कोही माइकलाल छ बताउने ? नेपालभरका बुद्धिजीवीलाई म चुनौती दिन्छु ।
कसरी बाङ्गोटिङ्गो भयो ?
जब अंग्रेजले सबै तराई कब्जा गरे, चन्द्रशेखर उपाध्याय र गजराज मिश्र बेतियामा गएर पूरा तराई अन्नको भण्डार हो हामीलाई चाहियो भनेर मागे । त्यसबेला नेपाल र भारतमा सामन्तवाद थियो । उनीहरूले जमिनदारको मतसंग्रह गर्नुप¥यो भने । ९ जना मधेशी जमिनदारले ब्रिटिसको अधीनमा बस्नुहुँदैन भनेर कपिलवस्तुदेखि कोशीसम्मको दक्षिण सिमाना बनाएका हुन् । यो इतिहासमा मधेशी जनताको भूमिका छैन ? त्यो सिमाना कसैको पूर्खा र बाबु बाजेले गरेका होइनन् ।
तपाईंहरूको मागलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले राष्ट्रघाती छ भनेका छन् नि ?
ओलीसँग दन्तबझानमा सँगै राख्नुस् । लाइभ गरम् । म चुनौतीका साथ भन्छु, नेपालका कुनै पनि नेतासँग राखेर एक घण्टा लाइभ गरियोस्, मसँग वार्ता गरियोस् । यो चुनौती कोही मान्न तयार छ कि छैन ? हामी खाली सिसी, पुराना कागज बेच्ने मधेशी होइन ।
तपाईंहरूमाथि आरोप त छ नि ?
कोही बौलायो भन्दैमा म टोक्न जान्नँ । म बौलाएको छैन ।
एमालेले त तपाईंहरूको माग उचित छैन भनेर निष्कर्ष निकालिसक्यो ।
ठीक छ । एमाले पार्टीको आफ्नो धर्म हो । म त्यसलाई अहिले आलोचना गर्न चाहन्नँ । हाम्रो लागि कांग्रेस, एमाले र माओवादी तीनवटै शत्रु हुन् । तीनवटै दल मधेशविरोधी हुन् । जनजाती, थारु, मुस्लिम र परिवर्तन विरोधी हुन् । यथास्थितिवादी हुन् ।
संशोधन प्रस्ताव पारित नहुने सम्भावना देख्नुभएको हो ?
मैले त्यही सम्भावना देखेको छु । अहिले संविधान संशोधन हुँदैन ।
अब तपाईंहरू के गर्नुहुन्छ ?
संविधान संशोधन लगायतका माग पूरा नभएकाले हामीले तीनवटा प्रदेशको स्थानीय तहको चुनावमा भाग लिएनाँै ।
तर राजपाका नेताहरूले स्थानीय तहको चुनावमा भाग लिए नि ?
लिएका छैनन् ।
तपार्इंकै पार्टीकाले समेत उम्मेदवारी दिएका होइनन् ?
सामान्य तहका कार्यकर्ताले कि त चुनाव लड्ने वातावरण बनाइदिनुस्, नत्र अर्को पार्टीमा जान्छाँै भने । त्यसपछि स्वतन्त्र चुनाव लड्ने भए लड्नुस् भन्यौँ ।
स्वतन्त्र रूपमा त धेरै ठाउँमा लडेनन् नि चुनाव ?
धेरै ठाउँमा होइन । खस आर्य पत्रकारिताले यो किन देखेन कि नवलपरासीको एउटा बुथमा जम्मा दुई भोट मात्रै खस्यो । अर्कोमा १८ प्रतिशत मत मात्रै खस्यो । यो कुरा अलजजिराले भन्न सक्यो । तर काठमाडौंका यी पत्रकार र च्यानलहरूले किन भन्न सकेनन् ?
एउटा बुथको उदाहरण दिएर मधेशको अवस्था चित्रित हुन्छ र ? समग्र मधेशबाट ७०–८० प्रतिशत मत खसेको होइन ?
यो कुरा कसले इन्कार गरेको छ ? तर मधेशी र थारु धेरै भएको ठाउँमा सैनिक कफ्र्यू लगाइयो ।
तपाईंको क्षेत्रमा हरेक तह र तप्कामा प्रतिस्पर्धा गर्न सक्ने मान्छे छ ?
छ । पहाडी क्षेत्रका नेतालाई हामीले तराईमा चुनाव जिताएका छौँ । तराईका नेतालाई हिमाल पहाडमा टिकट दिएर जिताउन सक्छ ?
अहिलेको संविधान समावेशी छैन ?
संविधानमा भएर हुँदैन । व्यवहारमा हुनुपर्छ । पछिल्ला सरकारले राजदूत बनाउँदा कतिजना मधेशीलाई बनायो ?
राजदूतमा पनि समावेशी चाहिन्छ र हाम्रो देशमा ?
अचम्म छ ।
कूटनीतिक क्षेत्रमा समावेश गर्न मिल्छ र ?
मेवपावर व्यवसाय गरेका व्यक्ति कुटनीतिज्ञ हुन् ? मलाई धेरै बोल्न नलगाउनुस् । फेरि म नाङ्गै पारिदिन्छु ।
आज नाङ्गो पारिदिनुस्, नेताहरू अरुलाई नाङ्गो पार्न खोज्दा आफैँ नाङ्गिन्छन् नि ?
पैसा लिएर राजदूत बनाइएको छ । राजदूत पद बेचिएको छ । कुन कूटनीतिज्ञलाई अनुभवको आधारमा राजदूत बनाइएको छ ? विभिन्न पेशाकर्मीहरूलाई ल्याएर पद दिइएको छ ।
अब मधेशी जनता चुनावमा जान तयार छन् । तपार्इंको पार्टी २ नम्बर प्रदेशको चुनावमा सहभागी हुन्छ कि हुँदैन ?
संविधान संशोधन लगायतका मागहरू पूरा नभएसम्म कसरी चुनावमा जाने ?
तपाईंहरूकै लागि सरकारले चुनाव असोजमा पु¥याएको होइन ?
हाम्रो कारणले होइन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले त्यही भन्नुभएको छ नि ?
नेपाली कांग्रेसकै कारण चुनाव सारिएको हो । २ नम्बर प्रदेशमा कांग्रेसको बैठक बस्नै सकेको थिएन । उम्मेदवार तय गर्नै सकेका थिएनन् ।
तपाईंहरूले नै २ नम्बर प्रदेशको चुनाव सार्ने प्रस्ताव गर्नुभएको होइन ?
गलत कुरा । अर्को कुरा नेपाली कांग्रेसको चाहना राजपाले चुनावमा भाग नलियोस् भन्ने छ । भाग लिएन भने कांग्रेसलाई बढी मत आउँछ भन्ने सोच थियो । तर राजपाले भाग नलिँदा एमालेलाई फाइदा भयो ।
तर राजपालाई चुनावमा जानुपर्छ भन्ने दबाब त छ नि ?
हाम्रो बारेमा तपाईंहरू किन चिन्तित हुनुहुन्छ ? हाम्रो दबाबलाई हामीलाई नै सहन दिनुस् न ।
मतदाताहरू त तपाईहरूलाई भोट दिएर जिताउन चाहन्छन् । होइन र ?
१,२ र ७ नम्बर प्रदेशको चुनावमा पनि तपाईंहरूले खुब दबाब दिनुभएको थियो । तर दबाब अहिले पनि छैन । राजपाले आफ्नो निर्णय आफैँ गर्छ । २ नम्बर प्रदेशको चुनावमा पनि हामी भाग लिदैनौँ । हाम्रा माग पूरा नभएसम्म चुनावमा जादैनौँ । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here