डा. दीपेन्द्र रोकाया
यही भदौ ३ गते बेलुकीपख गोरखा दरवारमा उक्ल्यौ । जब दरवार छिर्न थालेका थियौ, डोकाभरी पानी बोकेका चार जना दिदी बहिनी भेटिए । डोकाभरी प्लाष्ठिकका बोतलमा पानी भरिएकाले डोकाभरी भन्दैछु । उनीहरू मुल पानी बोकेर सिडी उक्लँदै थिए । साथीहरूले तस्वीर लिन थाले । उनीहरूले आफ्नो दुःख आफैसँग रहेको र तस्वीर लिएर के पाइन्छ र भन्न थाले । त्यसमध्येकी जेठी लाग्ने सजना योगीले दरवार आसपास क्षेत्रमा पानीको समस्या भएको र यदि यो फोटो खिच्नेहरूले यहाँ पानी ल्याउने व्यवस्था गर्न सके राम्रो हुने थियो भनिन् । मसँग महिला मन्त्रालय, समाजकल्याण परिषद, आइएम स्वीडिस डेभलपमेण्ट पार्टनर, मेड नेपालका साथीहरू थिए । उहाँहरू सरासर अगाडि बढिसक्नु भएको थियो, मैले उहाँहरूको कुरा ध्यान दिएर सुनेँ । त्यहाँको मुल पानी पनि पिएँ । वास्तवमा पानीको पिरलो सबभन्दा बढी महिलालाई हुनुले जो भेटे पनि यसैगरी भन्न थालेको धेरै भइसकेको रहेछ । यस समस्याको विषयमा छलफल गर्दै जाँदा थाहा भयो कि दरौदी नदीदेखि पानी लिफ्टिङ प्रणालीबाट ल्याउने प्रयास भईरहेको रहेछ । यो राम्रो कुरा हो ।
पृथ्वीनारायण शाहको दरवारभित्र छिर्ने भित्री गेटनेर उनको च्यातिएको अर्ध तस्वीर देखियो । त्यो तस्वीर फुङ उडेको थियो । सायद तस्वीरले यो पृथ्वीनारायणको समय होइन भन्न खोजेको पनि होला, तर हामीहरू यस दरवार क्षेत्रको ऐतिहासिकता हेर्न उलिएका थियौ । राँगाको वली दिने स्थाननेर पुगेपछि गोरखकाली मन्दिर क्षेत्र र उत्तरतिर दुई ठुला दमाहा घोप्ट्याएर राखेको देख्यौ । पृथ्वीनारायण शाहको मुल दरवारलाई भूकम्पले क्षति पु¥याएको रहेछ । जेहोस् पुनर्निर्माण भइरहेको छ । धुनी जगाउने चुल्होनेर पुग्दा चुल्हो चिसो थियो । उनको सुत्ने खाट मैलो थियो । तर सिराननेर त्यतिकै ठड्याइएको तस्वीर भेटियो । अँध्यारो कोठाभित्र मोवाइलको टर्च बालेर जे देखियो, त्यो तत्कालीन राजा पृथ्वीनारायण शाहको युगको अनुमान गर्न सकिने विषयहरू थिए ।
त्यसपछि हामीहरू गोरखनाथ र माथि उक्लेर शिवलिङ्ग स्तम्भबाट वरपर हे¥यौ । माथि कैलाश वन तथा त्यहाँबाट चारैतिर हेर्दाको मनोरम दृश्य हेरीवरी ओरालो लाग्यौ । साथीहरू नजिकैको गेष्ट हाउस तथा ढुङ्गामा कुदिएका चित्रहरू र मगर पुजारीबारे विश्लेषण गर्दै थिए । म भने तत्कालीन परिवेशमा एउटा कमजोर गोरखा राज्यले कसरी नेपाल विस्तार अभियान सफल पार्न सक्यो भनी सबैको ध्यानाकर्षण गराउन पुगेछु । किनकि अहिले पनि नेपालीहरू विश्वमा आफुहरू कमजोर राष्ट्रका नागरिक हौ भन्ने मानसिकताले ग्रस्त छन् । यो अवस्था हुनु पनि हामी सबैको अवसरको विषय होजस्तो लाग्दछ । यहीनेर पृृथ्वीनारायण शाहको सन्दर्भ हेर्न उर्पयुक्त हुन्छ कि ?
मान्छेहरू राजाको नाम लिने बित्तिकै तर्सने गर्दछन् । छोइछिटो हाल्ने गर्दछन् । तर ऊ बेलाको कुरा अहिलेको लागि शिक्षा लिने काम महत्वपूर्ण हुन आउँछ । त्यतिबेला गोरखा राज्य सबैभन्दा कमजोर थियो । अंग्रेजले कहिल्यै घाम नअस्ताउने गरी उपनिवेश बढाइरहेको अवस्था थियो । यस्तो अवस्थामा नेपालका भुरे टाकुरे राजा रजौटाहरू एक आपस लडिरहेका थिए । आफ्नै स्वार्थमा केन्द्रित थिए । त्यसखाले वातावरण चिर्न चिन्तनशील पृथ्वीनारायण शाहले राज्यकोष बलियो बनाउन र हतियार निर्माण गर्ने विषयमा छलफल गर्न बिसे नगर्चीको आरनमा पुगेका थिए । श्रमजीवी वर्गका बिसे नगर्चीले जसरी प्रतिघर एक मोहरका दरले उठाउँदा ६०० रूपैया गोरखा राज्यबाट जम्मा हुने आधार देखाएका थिए, त्यसैमा टेकेर उनले नेपाल विस्तार अभियान सञ्चालन गर्न पुगेका थिए ।
यहीनेर म हतियारको खोजीमा भन्दा शिक्षा र स्वास्थ्यको खोजीमा भौतारिने र विदेशिने पुस्ता बढेको देख्दैछु । हामीले आफ्नै राज्यकोषमा जम्मा हुने धन विदेशिएको देख्न परेको छ । यसै धनको सदुपयोग शिक्षामा आमा स्कूल, प्राथमिक स्कूल, राज्य स्कूल र विश्व जनशक्ति निर्माण गर्ने विश्वविद्यालयको पढाई गर्न सके यतिबेला विश्वमा नयाँ पहिचान दिन सक्ने थियौ जस्तो लाग्दछ । आमा स्कुलको अर्थ हो, ६ वर्षसम्म आमाले लालनपालनका साथै प्रेरक प्रशंगबाट जग बसाल्न जरुरी छ । हरेक बच्चा आफैमा एउटा विश्व हो । यसरी हुर्काइएको बच्चाले प्राथमिक स्कूलमा पुग्दा समाज चिन्न र पढ्न पाओस् । त्यसपछि राज्य स्कूलमा अबका १०, २०, ५० र १०० वर्षसम्मको परिवर्तनको आकलन गरी रुचीअनुसार जनशक्ति पहिचान गरी काममा लगाउन सकियोस् । त्यसबाट छानिएको जनशक्तिलाई विश्वविद्यालयको अनुसन्धानबाट देश र विदेशको विषय विज्ञ निर्माण गर्न सकियोस् ।
यसका साथै, स्वास्थ्य क्षेत्र हाम्रो लागि चुनौतिको विषय बनेको पाइन्छ । यो क्षेत्र ब्यापार र अपराधको आधार हुन थालेको छ । यसैले शिक्षा र स्वास्थ्यमा राज्य अभिभावक बन्न सकेको छैन । सबैले निःशुल्क शिक्षा र स्वास्थ्य अधिकार प्राप्त गर्न सकिरहेका छैनन् । सुर्ती र उखु मात्र उत्पादन हुने क्युवाले त्यतिकै स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याएको होइन । यस्तै भूमिमा निजी स्वामित्वबाट उत्पन्न हुने द्धन्द्ध हल गनै पर्नेछ । यहाँ एउटा इच्छाशक्तिको आवश्यकता छ, त्यो राजनीतिक रूपमा प्रेरित भयो भने गोरखाजस्तो कमजोर राज्यका राजाले नेपाल विस्तार अभियान चलाउन सक्छन् भने हामीले नेपालका साथै विश्वभरको स्रोत साधन परिचालन गर्न सक्ने आधार प्राप्त छ ।
हामीले शनिवार भएका कारण गोरखा संग्रहालयको अवलोकन गर्न पाएनौ । तर गोरखा प्यालेस होटलमा बस्दा तिजको अवसर पारी चेलीबेटीहरू आधुनिक दर र नाचगानमा देखिए । केही विदेशी र गोर्खा लाहुरेहरू हल्लाखल्लाका साथ रात्रीकालीन तिज मनाइरहेका भेटिए । गोरखामा भूकम्पका आला घाउहरूमा मलम लगाइएको मुच्चोकको अवस्था अनुगमन गर्न जाँदा डाँडाको गोरखा दरबार र बजारको गोरखा प्यालेसको बासले बिसे नगर्चीको आरन खोज्न मन लाग्यो । त्यो आरन भनेको शिक्षा, स्वास्थ्य र भूमि क्षेत्रको समस्या हो भन्ने मेरो ठम्याई रह्यो । अहिलेको लागि विकासको आधार एकीकृत घनावस्ती हो । तर नेपालले २०७२ सालको भूकम्पलाई अवसरको रूपमा उपयोग गर्न नसकेको अनुभव गोरखामा आएर अझ गहिरो गरी बोध भयो । जबकि गतवर्ष मात्र ४ अर्ब २७ करोड रूपैयाँ गोरखामा वैदेशिक सहयोगका कार्यक्रम भएका थिए । यसैले स्थानीय विकास अधिकारी नारायण प्रसाद आचार्य कुनै उपलब्धी भएन भन्दै थिए ।
यो अवस्थामा हामीले पृथ्वीनारायण शाहको जन्मस्थानको पुरातात्विक महत्वसहित आधुनिक सन्दर्भ खोजेर नेपालको गोरखालाई विश्व गन्तब्य बनाउन विना हिचकिचाहट लाग्नै पर्ने देखिन्छ । पृथ्वीनारायण शाह तथा तिनका पछिल्ला पुस्ताका गुण र दोषका आधारमा मुल्याङ्कन गर्दै विगतबाट शिक्षा लिने र भविश्यको लागि नयाँ आधार खोज्दा उपर्युक्त हुनेछ ।
जनधारणा साप्ताहिक
















