आज रेडक्रस दिवस आम नेपाली जनहरुमा शुभकामना ः ‘सबै ठाउँमा, सबैका लागि’

744

काठमाडौँ, सबै ठाउँमा, सबैका लागि, भन्ने मूल नाराका साथ आज देशभर रेडक्रस दिवस मनाईदैछ । नेपालमा विसं २०२० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो । स्थापनाको उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयंसेवकको सम्मान, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, विपद् व्यवस्थापनलगायत रेडक्रसका गतिविधिको बारेमा अन्तरक्रिया, बाढी पहिरो प्रभावितलाई राहत वितरणलगायत विविध कार्यक्रम गरी रेडक्रस दिवस देशभर मनाउन लागिएको छ ।
नेपालका ७५ वटै जिल्लामा नेपाल रेडक्रस सोसाइटिका शाखा, एक हजार ५ सय ८ उपशाखा, पाँच हजार ४ सय १० जुनियर सर्कल र ८ सय ६५ वटा युवा सर्कल रहेका छन् । नेपाल रेडक्रसका सबै निकायमा ९० हजार स्वयंसेवक तथा १० लाख ६० हजारभन्दा बढी सदस्य आवद्ध रहेको नेपाल रेडक्रस सोसाइटिले जनाएको छ ।
यो स्वयमसेवी संस्थाले विपद् व्यवस्थापन, आकस्मिक सेवा र संकटासन्नता न्यूनीकरण गतिविधिलगायत अहिले ७२ जिल्लाका १ सय ६ स्थानबाट रक्तसञ्चार सेवा, २ सय १० वटा बाहनमार्फत् एम्बुलेन्स सेवा र दुईवटा अस्तालमार्फत आँखा स्याहार गतिविधि सञ्चालन गरिरहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा मात्र विपद् व्यवस्थापन तथा विकासमूलक कार्यक्रमबाट ८० लाखभन्दा बढी नागरिक लाभान्वित भएको जनाइएको छ ।
नेपाल रेडक्रसले ‘आन्तरिक सशस्त्र संघर्ष, प्राकृतिक विपत्ति वा शान्ति सबै परिस्थितिमा विगत ५४ वर्षदेखि पारस्परिक सहयोग र समझदारीका आधारमा आफ्ना सेवा निरन्तर प्रदान गर्दै आएको छ, जनाइएको छ । हाल मुलुकका २८ जिल्लामा लक्षित गरी बाढी तथा पहिरो प्रभावित नागरिकलाई तत्काल सहयोगका लागि एक हजार तीन सयभन्दा बढी रेडक्रसका स्वयंसेवक तथा कर्मचारी प्रभावित क्षेत्रमा खटिएका छन् ।
विसं २०७२ मा गएको भूकम्पपछि रेडक्रसले नेरेसोमार्फत् एक हजार ४ सय ७५ घर निर्माण गरिसकेको छ । यस्तै ६ हजार ५८१ परिवारलाई आवास निर्माणको पहिलो किस्ता, दुई हजार हजार १२२ परिवारलाई दोस्रो किस्ता, ८७१ परिवारलाई तेस्रो किस्ता तथा २१२ परिवारलाई अन्तिम किस्ता सहयोग गरेको सञ्चार अधिकृत पौडेलले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटीले ७० वटा खानेपानी योजना, एक हजार ४२८ शौचालय, दुई हजार ३१३ शौचालय निर्माण गरिरहेको जनाएको छ । स्वास्थ्य सेवाअन्तर्गत ६ वटा स्वास्थ्य चौकी निर्माण सम्पन्न भइसकेका छन् भने २७ वटा स्वास्थ्य चौकीलाई मर्मत तथा आधारभूत उपकरण सहयोग गरिएको छ । करिब सात हजारभन्दा बढी नागरिकलाई जीविकोपार्जन सम्बन्धि तालिम प्रदान गरिएको छ १३ हजार ३५३ परिवारले जीविकोपार्जनका लागि नगद सहयोग प्राप्त गरिसकेका नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
हालैको बाढी पहिरोबाट १७ लाख मानिस प्रभावित भएकामा दुई लाख १० हजार घरमा पूर्ण तथा आंशिक रूपमा क्षति भएको छ । चार लाख ६० हजार नागरिक विस्थापित भएका छन् । नेपाल रेडक्रस सोसाइटीले रु आठ करोडभन्दा बढी मुल्य बराबरको सात हजार ७५६ परिवारलाई गैरखाद्य सामग्री, पाँच हजार ७११ परिवारलाई त्रिपाल, दुई हजार ७०० परिवारलाई सरसफाइ सामग्री, ४१ हजार ८५१ परिवारलाई आपतकालीन खाद्य सामग्री, ५०८ परिवारलाई पकाउने भाँडा, दुई हजार ५२६ परिवारलाई झुल, तीन हजार २६ परिवारलाई कम्बल तथा एक हजार ८०१ परिवारलाई ओछ्याउने म्याट्रेस उपलब्ध गराएको छ ।
मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्वव्यपकता जस्ता सात सिद्धान्त रहेको स्वयमसेवी सस्थाका सस्थापक जाँ हेनारी ड्युना हुन । नेपालमा मात्र नभएर विश्वमै यो सस्था एक अनुकरणीय सस्थाको रुपमा परिचित रहेको छ । यस दिवसको उपलक्ष्यमा सम्पूूर्ण देश तथा प्रदेशमा रहनुहुने सम्पूर्ण नेपाली जनहरुमा स्वाभिमान नेपालको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here