क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन

212

हुकुमबहादुर सिंह

यही असोज २२ देखि २६ गतेसम्म क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन पोखरामा भइरहेको छ । यो सही हो पार्टीमा माओवादबारे विवाद उठेको छ र त्यसैगरी जनयुद्धबारे पनि विवाद उठेको छ र पार्टी ती सबै विवादलाई मालेमावादी संगठनात्मक सिद्धान्तको आधारमा समाधानको प्रक्रियामा छ र आशा गरौं यो राष्ट्रिय सम्मेलनले त्यसको छिनोफानो गर्नेछ । पत्रपत्रिकाले भनेझैं यो विवाद नेकपा (एकीकृत)बाट एकता प्रक्रियामा आएका र अन्य माओवादीबीचको विवाद भन्ने गरेझैं हो जस्तो लाग्दैन । त्यसरी ध्रुवीकृत गर्न अहिले नै मिल्दैन । तर पनि सम्मेलनका लागि फरक मत दर्ज गर्ने कमरेडहरू एकताबाट आएका नेताहरूबाट प्रस्तुत गरिएकाले पत्रपत्रिकाका ती भनाइमा केही सत्यता अवश्य होला । तैपनि सम्मेलनले सबै पूर्वाग्रह र मनोगतबाट माथि उठेर बहसलाई मित्रतापूर्ण रूपले समाधानको मार्ग खोज्नै पर्दछ र खोज्न सफल हुनेछ ।
माक्र्सवाद–लेनिनवाद–माओवाद आजको विश्वको सर्वहारावादी क्रान्तिको सार्वभौम सिद्धान्त हो । यो दुई÷चार जनाले वा एक÷दुई पार्टीले भनेको नभई विश्वका क्रान्तिकारीहरूले निकालेको निष्कर्ष हो । अहिले विश्वक्रान्ति यसकै आधारमा अगाडि बढाइएको व्यावहारिक गतिविधि हो । हामीलाई थाहा छ, विश्व कम्युनिष्ट आन्दोलनमा सबैभन्दा पहिले पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ)ले माओवादको आवश्यकता र औचित्य पुष्टि गर्दै सन् १९८२ मा पार्टीको निर्देशक सिद्धान्तका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद घोषणा गरेको थियो । क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी संगठन रिमले सन् १९९३ मा र २००१ मा कम्पोसाको गठनपछि त्यसमा आबद्ध पार्टीहरूले पनि माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा अँगालेका छन् ।
अहिले नेपालका माओवादीहरू क्रान्तिकारी पार्टी निर्माणमा यहाँ जुटेका छन् । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको फराकिलो मार्गतर्फ अग्रसर हुन चाहन्छन् । यो पार्टी क्रान्तिकारी पार्टी हो । यसका संगठनहरूमा क्रान्तिकारीहरू टिक्न र अटाउन सक्ने लेनिनको शब्दमा रमाउन सक्ने वातावरण विकास गर्न पर्दछ । जुन पार्टीमा अवसरवादीहरू रमाउने अवस्था हुन्छ, त्यसको भविष्य भनेको दक्षिणपन्थी विसर्जनवाद नै हो । प्रचण्ड–बाबुराम अब माओवादी रहेनन् र विप्लवको नेतृत्वको पार्टी पनि माक्र्सवादमा नयाँ विचारको विकासको नाममा चे, फोको र बब् एभ्याकियन पथमा अग्रसर छ । त्यसैले अहिलेको यो पार्टीको जिम्मेवारी भनेको विचार रक्षाको प्रश्नले नै अहम् महत्व राख्दछ । यसका लागि आन्तरिक रूपमा वैचारिक संघर्ष र बाह्य रूपमा वर्गसंघर्ष सारमा वर्गसंघर्षको तीव्रता नै । विचारको रक्षा हो भन्ने मूलमन्त्रलाई आत्मसात् गर्न आवश्यक छ । वर्गसंघर्षविना विचारको रक्षा सम्भव छैन ।

दलाल पुँजीपति, दलाल नोकरशाहका विरुद्धको लडाइँ हाम्रो केन्द्रविन्दु हो भने सामन्तवादका बाँकी अवशेषहरूका विरुद्धको संघर्ष पनि अहिलेको उत्तिकै आवश्यकता हो । बरु सामन्तवादका बाँकी अवशेषहरू केके छन् ? त्यसबारे एउटा निर्दिष्ट खाकाको विकास आवश्यक छ । अनि मात्रै पार्टीले क्रान्तिको केन्द्र पहिचान गर्न सक्छौं । दलाल पुँजीपति, दलाल नोकरशाहा विगतमा भन्दा झन् संगठित र बलिया बनेका छन् । नेपालमा राष्ट्रिय पुँजीपति वर्गको अभाव देखिएको छ । राजनीति, अर्थ, समाज र संस्कृतिका हरेक पक्षमा दलालीकरण अहिले मूल ट्रेण्ड भएको छ र सर्वहारावर्गीय क्रान्ति नै अहिलेको लागि पनि आवश्यक र सम्भव दुवै छ । क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन यसमा सफल हुनेछ । [email protected]

जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here