बलात्कारका घटना र कारबाहीको अवस्था

244

राज्यलक्ष्मी शाक्य
मंसिर २ गते एक कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटना भयो । अस्पतालमा रहेकी पीडित युवती होसमा आएर बोल्न सक्ने भएपछि घटनाको आठौं दिनमा दिएको किटानी नामका आधारमा ललितपुरकै रघु सिलवाल (३२), विशालध्वज कार्की (२०) र पवन कुँवर (२०) लाई प्रहरीले पक्राउ पनि ग¥यो । घटनाको गम्भीरता र संवेदनशीलता कायमै रहेका बेला एकाएक ललितपुर जिल्ला अदालतले गत पुस २६ मा प्रतिवादीमाथि लगाइएको आरोप र जाहेरीमा पर्याप्त प्रमाण नभेटिएको भन्दै साधारण तारेखमा रिहा गरिदिएको छ ।
……
पुस १६ गते इटहरीमा कथित प्रेमी र उनका साथीबाट होटलमै बलात्कृत भएकी १४ वर्षीया बालिकाका अभिभावकलाई स्थानीय प्रहरीले उल्टै धम्क्याई ‘मिलापत्र’ गराएको घटना करिब एक महिनासम्म कसैले सुइँकोसम्म पाएन । प्रहरीकै माथिल्लो निकायमा जब यो सूचना चुहियो, बल्ल घटनाबारे अनुसन्धान अघि बढाइयो ।
……
माघ ११ गते बिहीबार राति काठमाडौंको होटल ल्याण्डमार्कमा एक युवती उनका कथित प्रेमी र उसका साथीहरुबाट बलात्कृत भइन् । पीडित युवती उजुरीका लागि प्रहरीसमक्ष पुगिन् । तर, प्रहरीले बलात्कार जस्तो जघन्य अपराधमा कारबाही बढाउनुको सट्टा रकम लेनदेन गरी मेलमिलाप गर्न लगाइयो । यो घटनामा सूचना चुहिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाइयो । घटनामा प्रहरीले पनि आर्थिक लाभ लिएको थाहा पाएपछि केही प्रहरी अधिकारीलाई निलम्बनसमेत भयो । घटनाको अनुसन्धान चलिरहेको छ ।
…….
माथिका यी प्रतिनिधि घटनाहरु केही महिनाको अन्तरालमा घटेका र सञ्चारमाध्यममा पनि सार्वजनिक भएका हुन् । तर, सञ्चारमाध्यममा आउन नसकेका बलात्कारका घटना अझै थुप्रै छन् भनेर अनुमान लगाउन सकिन्छ । नेपाली समाजमा अझै पनि बलात्कारको घटनालाई सकेसम्म सार्वजनिक गरिँदैन । सकेसम्म आपसी मेलमिलापमा नै टुंग्याउने प्रयास गरिन्छ । यसले पीडित झनै पीडित बनेका छन्, जुन चिन्ताको विषय हो । जबसम्म बलात्कारको घटना सार्वजनिक हुने र दोषीलाई कडाभन्दा कडा कारबाही हुँदैन, तबसम्म अपराध गर्नेहरुलाई अझै प्रोत्साहन मिल्नेछ । यस्ता घटनालाई गुपचुप राखिँदा बलात्कार गर्नेको मनोबल अझ बढ्नेछ ।

 
बलात्कारको घटना घट्नुमा विभिन्न कारण हुनसक्छन् । पछिल्लो समय भने विभिन्न माध्यमबाट युवायुवतीबीच चिनजान हुने, क्षणिक आकर्षणमा फस्ने, होटल अथवा सुनसान स्थानमा भेट्ने र प्रेमीकै साथीहरुबाट युवतीको बलात्कार हुने श्रृंखला दोेहोरिन थालेको छ । यसबाहेक अन्य कारणले पनि बलात्कार हुने गरेको छ नै । तर, पछिल्लो समय देखिएको यस्तो श्रृंखलाले विश्वास गरिएको व्यक्तिबाट नै युवतीहरुले धोका पाइरहेका छन् । यसमा कुन प्रेमसम्मको अवस्था र कुन अपराधको अवस्था भनेर बुझ्न जरुरी भएको छ । अर्को पक्ष, प्रेमी नै बलात्कारीको रुपमा प्रकट हुने अवस्था देखिएको छ । त्यसकारण सम्बन्ध बनाउँदा पनि सचेत हुन जरुरी छ भने अभिभावकहरुले आफ्नो सन्तानको गतिविधिलाई गम्भीरताका साथ लिन जरुरी छ । यसको अर्थ उनीहरुलाई बन्देजमा राख्ने भन्ने होइन ।
बलात्कार सामान्य घटना होइन, यसले व्यक्तिको आत्मसम्मान नै तहसनहस पारिदिन्छ । त्यसकारण यो अक्षम्य र जघन्य अपराध हो । तर, दुःखलाग्दो विषय के हो भने यस्तो घटनामा संलग्न आरोपीहरुले भने सजिलै उन्मुक्ति पाउँदै आएका छन् । त्यसमा कानुन कार्यान्वयन गर्ने र दोषीलाई पक्राउ गर्ने जिम्मा पाएको प्रहरीले नै सहयोग गर्नु झन् उदेकलाग्दो देखिन्छ । केही प्रहरीले बलात्कारको आरोपीसँग आर्थिक लाभ लिएर उनीहरुलाई छोडिदिनु, अदालतबाट पनि पीडकको पक्षमा आदेश आउनुले हामी कतै अपराध गर्नेहरुलाई नै सघाउँदै त छैनौं ? भन्ने प्रश्न खडा भएको छ । पछिल्लो परिदृश्यले भने यो आशंकामा थप मलजल गरेको छ ।
उल्लिखित घटनामा पनि आरोपीहरुलाई छूट दिने कार्यमा प्रहरीको संलग्नता देखिएको छ । यसरी पीडितलाई जबर्जस्ती मिल्न लगाउने र आरोपीले केही रकम दिएर उन्मुक्ति पाउने अवस्था भनेको समाज दण्डहीनताको बाटोमा अघि बढ्नु हो । यसमा साथ दिने जोकोहीले पनि भोलि आफ्नो छोरीचेलीले त्यही अवस्था भोग्नुपर्ने त होइन ? भनेर बुझ्न जरुरी छ । किनकि हामी पनि यही समाजको बासिन्दा हौं । यो समाजमा जतिजति विकृति बढ्दै जान्छ, त्यसको असर पनि हामीलाई पर्दै जान्छ । के महिला, के पुरुष, सबैले यस्तो घटनाको विपक्षमा सशक्त रुपमा आवाज उठाउन जरुरी छ ।
यस्तो घटनालाई न्यूनीकरण गर्न र दोषीलाई कडाभन्दा कडा कारबाहीको भागिदार बनाउन राज्य पक्षको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तर, राज्य पक्षमा पनि स्वार्थी मनोवृत्ति हावी हुन पुगेको छ । आफ्नो पदको दुरुपयोग गर्दै आर्थिक लाभ लिएर घटना दबाउन संलग्न जोकोही पनि बलात्कारका आरोपीझैं उत्तिकै दोषी हुन् । तिनीहरुलाई पनि माथिल्लो निकायले कडाभन्दा कडा सजाय दिनैपर्छ । अनिमात्र पीडितले कानुनी राज्यको महसुस गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here