काठमाडौं / अमेरिकाबाट प्रकाशन हुने फोब्र्स पत्रिकाले यसपटक पनि नेपाली अर्बपतिको सूचीमा विनोद चौधरीको नाम समावेश गरेको छ । विनोद चौधरीले नेपालमा उत्पादन गर्दै आएको वाइवाइ चाउचाउ स्वास्थ्यका लागि हानिकारक रहेको दावी गर्दै भारतको तामिलनाडुस्थित खाद्य प्रयोगशालाले निर्णय सुनाएको छ । वाइवाइ चाउचाउ भारतमा प्रतिबन्धित गरिएको जनाइएको छ । तर चौधरी विश्व अर्बपतिको सूचीमा यसपटक पनि सम्मानित हुन पुगेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्नेहरूले नै महाअभियोग लगाएर लखेट्ने प्रयास गरेपछि लोकमान सिंह कार्कीले सर्वाेच्च अदालत परिसरबाट लिखित विज्ञप्ति वाचन गरेका थिए । विज्ञप्ति वाचन गर्ने क्रममा कार्कीले धेरैजसो नेताहरूलाई निर्वस्त्र गराइदिने चेतावनी दिएका थिए । कार्कीले दिएको चेतावनीबाट धेरैजसो नेताहरू पनि थर्कमान नै भएको पाइएको थियो । कुनै पनि नेताले म भ्रष्ट छैन भनेर टाउको उठाएर बोल्न सक्ने अवस्था नभएको निष्कर्षमा पुगेका लोकमानसिंह कार्कीले गोप्य डायरीसमेत सार्वजनिक गरिदिने धम्की दिएका थिए ।
धेरै नेताहरूको विवरणले भरिएको त्यो गोप्य डायरीको एउटा पेजमा भने नेपालका चर्चित उद्योगपति विनोद चौधरीका बारेमा उल्लेख थियो । कार्कीले अख्तियारको प्रमुख आयुक्तमा कार्यभार सम्हालेको ६ महिनापछि उनकै कार्यकक्षमा जनधारणा प्रतिनिधिसँग कुरा गर्दै बहुचर्चित माओवादी शिविरको आर्थिक अनियमितता प्रकरणबारे प्रचण्डलाई दोष लगाउने प्रमाणिक आधार केही पनि नभएको जनाएका थिए । शिविरबाट रकम बुझ्ने वा त्यो रकम खर्च गर्ने काममा कतै पनि प्रचण्डको संलग्नता नदेखिने कुरा कार्कीले जानकारी गराएका थिए ।
प्रमुख आयुक्त कार्कीले जनधारणासँगको संवाद्का क्रममा आफ्नो डायरीको गोप्य पाना पल्टाउँदै चर्चित उद्योगपति विनोद चौधरीका बारेमा रोचक कुरा लेखिएको देखाएका थिए । पूर्व प्रधानमंत्री सूर्यबहादुर थापाको भनाइअनुसार थापाका अति विश्वाशिला व्यापारी विनोद चौधरीलाई पूर्व रानी ऐश्वर्यका नाममा रहेको सबै रकम दिलाउन थापा सफल भएको कुरा डायरीमा लेखिएको थियो ।
सूर्यबहादुर थापाले रानी ऐश्वर्यलाई विदेशी बैंकमा राखेको पैसा कुनै पनि बेला असुरक्षित हुन सक्ने र त्यसबाट राजसंस्थाको बदनामी पनि हुन सक्ने तर्क प्रस्तुत गर्दै देश भित्रै कुनै विश्वाशिलो व्यापारीलाई न्यूनतम व्याजमै लगानी गर्दा रकम सुरक्षित पनि हुने र व्याजबाट वृद्धि पनि हुन सक्ने भनेर प्रस्ताव गरे पछि रानी ऐश्वर्यले त्यस्तो व्यापारी को हुन सक्ला भनेर थापालाई सोधे पछि थापाले विनोद चौधरीको नाम प्रस्ताव गरी रानीलाई सहमत गराएर रानीको नाममा विदेशी बैंकमा रहेको रकम विनोद चौधरीको नाममा गराउने प्रक्रिया थालनी गरिएको कुरा गोप्य डायरीमा लेखिएको थियो । कार्कीले यो सूचनालाई सार्वजनिक नगरी छानविनको प्रक्रिया गोप्य रूपमै अगाडि बढाएका थिए । अकस्मात राजनीतिक नेतृत्वको दवाव परेपछि कार्कीबाट थालिएको चौधरी विरुद्धको छानविन प्रक्रिया स्थगित भएको कुरा कार्की स्वयम्ले जनधारणालाई जानकारी गराएका थिए । यिनै चौधरी फेरि यसपटक विश्व अर्बपतिको सूचीमा नेपाललाई झुक्याउँदै पुगेका छन् ।
(- जनधारणा साप्ताहिक)

















