कम्युनिष्ट एकता किन आवश्यक ?

246

हुकुमबहादुर सिंह
फेरि एकपटक कम्युनिष्ट एकताका कुरा उठेका मात्रै होइन एकताका कुरा चलेका छन् । खासगरी विगतका दुई ठूला संसद्वादी र संशोधनवादी कम्युनिष्ट पार्टीहरूले आफूलाई वाम गठबन्धनको नाममा संसद् र प्रदेश निर्वाचनमा करिब दुई तिहाइ मत ल्याएपछि नेपालमा संसद्वादी र संशोधनवादी कम्युनिष्टहरूको वर्चस्वलाई तोड्न र नेपालमा सर्वहारावर्गीय राज्यसत्ताको झण्डालाई निरन्तर उठाउने महान लक्ष्यका साथ देशमा विद्यमान मालेमावादी चार कम्युनिष्ट पार्टीहरू मोहन वैध किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, नेत्रविक्रम चन्द र ऋषि कट्टेल नेतृत्वको नेकपाहरूबीच पार्टी एकताबोर व्यापक बहसहरू चलेका छन् र ती बहसहरूबाट अहिले कम्युनिष्ट एकता किन र केका लागि भन्ने बहसमा केन्द्रित भएर पार्टी एकताका आधारहरू केके हुन सक्छन्, त्यसबारे एउटा साझा अवधारणाको विकास गर्नेमा सहमति बनेको कुरा बाहिर प्रेसमा आएको छ । यसरी बहस मात्रै नभई कार्यगत एकतामार्फत व्यवहारमा कार्यमा गएर पार्टी एकताका आधार तयार पार्दै जाने सहमति भएको छ, जो नेपालमा क्रान्तिकारी कम्युनिष्टहरूका लागि एउटा खुशी र गर्वको कुरो भएको छ ।

 
हालै सम्पन्न यी चार पार्टीहरूको बैठकबाट यस्तो सहमति भएको कुरा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको वक्तव्यले प्रष्ट पार्न मद्दत गर्दछ । उनीहरूबीचको निम्ननिर्णयले स्पष्ट पार्न मद्दत गर्दछ, जसमा भनिएको छ कि पार्टी एकताका आधारहरू तयार पार्न छलफल र बहस गर्दै जाने र जुनजुन विषयहरूमा सहमति हुन्छ, ती सहमति भएका विषयहरूमा संयुक्त आन्दोलन गर्दै जाने निर्णय गरिएको छ । खासगरी नेपालको राष्ट्रियता र नेपाली जनताका जनजीवीकाका सवालहरूमा संयुक्त आन्दोलनका ठोस कार्यक्रमहरू दिंदै जाने र त्यसका लागि आन्दोलनका कार्यक्रमहरू दिने निश्चित गरिएको छ । यी पार्टीहरूले केही समयदेखि नेपालका मालेमावादी कम्युनिस्ट पार्टीहरूबीच पार्टी एकतालाई लक्षित गर्दै निरन्तर छलफल गर्दै आएको कुरा प्रेसमा पनि आएका थिए । स्मरण रहोस्स मोहन वैद्य नेतृत्वको हालको नेकपा (क्रान्तिकारी माओवादी तर उक्त समयको नेकपा—माओवादीले २०६९ सालअसार २—३ गते बौद्धमा भेला गरी आफूलाई प्रचण्ड नेतृत्वको एकीकृत नेकपा–माओवादी) अलग भएको घोषणा गरेको थियो भने नेत्रविक्रम चन्द, जो नेकपा—माओवादीले २०६९ साल असार २—३ गते बौद्धमा भेला गर्दा मोहन वैद्य ‘किरण’ नेतृत्वमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीबाट अलग भएर विद्रोह गर्दा त्यसका हर्ताकर्ता थिए । तर प्रचण्डबाट अलग भएको दुई वर्षमै २०७१ मंसिर १५ गते एकीकृत क्रान्तिको नयाँ कार्यदिशा विकास गर्ने भन्दै नेकपा क्रान्तिकारी माओवादीबाट अलग भएको घोषणा गरेका थिए ।

 
तर देशको राजनीतिक परिस्थिति बदलिँदै गएको संसद्वादी र संशोधनवादी कम्युनिष्टहरूले कम्युनिष्टको भ्रम पार्ने सम्भावना बलियो बन्दै गएको अवस्थामा यी चार मालेमावादी कम्युनिष्टहरू मिलेर क्रान्तिको झण्डालाई झुक्न नदिने उद्घोषका साथ एकताका लागि आधारहरू र मिलनविन्दु खोज्न थालेको स्पष्ट भएको छ । ती पार्टीहरूले कार्यगत एकता गर्दै र संयुक्त रूपमा पार्टीका विभिन्न कार्यक्रम गर्दै जाने निर्णय मात्रै गरेका छैनन् विगतमा विभिन्न संयुक्त आन्दोलनका कार्यक्रमहरू पनि गर्दै आएका छन् । यसरी क्रान्तिकारी शक्तिहरूसँग कार्यगत एकतासँगै पार्टी एकीकरण र ध्रुवीकरणले गति लिने छ । माओवादी केन्द्रले एमालेसित एकता गर्ने भनेपछि यी चार मालेमावादी कम्युनिष्टहरूले पनि एकताका लागि विचार, कार्यदिशा र संगठन सबै क्षेत्रमा माक्र्सवादी लेनिनवादी संगठनात्मक सिद्धान्तलाई आत्मसात् गर्नै छन् भन्ने आशा र विश्वास गर्न सकिन्छ । तैपनि मोहनविक्रम सिंहमा रहेको निषेधात्मक द्वन्द्ववाद र विप्लवमा देखिएको माक्र्सवादमा नयाँ चीजको विकास गर्ने हुटहुटीले कतै यी सबैलाई नकारात्मक असर त पार्ने छैन ? शंकाको कालो बादल यथावत् छ । क्रान्तिकारीहरू आशावादी छन्, पार्टी एकता अनिवार्य र आवश्यक छ । अस्तु । [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here