रेलमा लोभ्याउँदै चीनलाई रोक्ने खेल त होइन ?

183

–निमकान्त पाण्डे
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा आपूmलाई कूटनीतिक चातुर्य मन नपर्ने कुरा समकक्षी नरेन्द्र मोदीसँग प्रस्तुत गरेको स्वयं ओलीबाटै सार्वजनिक नभए पनि भ्रमण टोलीका अर्का एक सदस्यबाट आएको छ । कूटनीतिक चातुर्य भारतीय नेताहरूले निकै जान्दछन् भन्ने कुरा प्रधानमन्त्री ओलीलाई जानकारी भएकैले हुनसक्छ, आपूmसँग कूटनीतिक क्षमता नभएको कुरा उहाँले प्रस्तुत गर्नुभएको हुनसक्दछ । यति हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीलाई नरेन्द्र मोदीले कूटनीतिको रणभुल्लमा पारेको छर्लङ्ग भएको छ ।
यो भन्दा पहिलोपटक प्रधानमन्त्रीका हैसियतबाट भारत भ्रमणमा पुगेका केपी ओली नाकाबन्दीको खुल्लमखुल्ला डकैतीका विरुद्ध आक्रोशित बनेर प्रस्तुत हुनुभएको थियो । त्यति ठूलो नाकाबन्दीको सकसलाई पनि सहनशीलताका साथ सामना गरेका नेपाली जनताले केपी ओलीको भारतीय डकैतीका विरुद्ध देखिएको अडानलाई श्रद्धा गरेका थिए । नेपाली जनताको सहनशीलता र आपूmले पाएको श्रद्धाबाट प्रफुल्लित प्रधानमन्त्री केपी ओली भारतको ज्यादतीका विरुद्ध अझ सशक्त ढंगले प्रस्तुत भएको अवस्थाले नेपाली जनताका बीचमा केपी ओलीको राजनीतिक उचाइ यति माथि उठ्यो कि त्यसबाट भारतीय नेताहरूको कूटनीतिक चातुर्य धुलिसात् भयो । यस्तो अवस्था बन्न पुग्यो कि नरेन्द्र मोदीले लगाएको नाकाबन्दीको जयजयकार गरेर समेत नेपाली जनताले मोदीविरुद्ध कूटनीतिक आक्रोश प्रदर्शन गरे । ‘मोदीको नाकाबन्दी जय होस्, नरेन्द्र मोदीको जय होस् ।’ नेपालमा नाकाबन्दीको सकसबीच यस्तो नारा पनि सुनिएका थिए । योभन्दा सफल कूटनीति अरु कस्तो हुन्छ ? नेपाली जनताले भारतीय नेतालाई दिएको यो कूटनीतिक जवाफ नै उदाहरण छ– नेपालीहरू कूटनीतिक भाषा बुझ्दछन् र जान्दछन् पनि । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षीलाई कूटनीतिक भाषामा आपूm कुरा गर्न नजान्ने भनेरै पनि राम्रो कूटनैतिक वार्ता शुभारम्भ गर्नुभएको ठान्नु पर्दछ ।
प्रधानमन्त्री ओलीले भारतबाट नाकाबन्दी भइरहेको बेला दैनिक उपभोग्य सामग्रीहरू उत्तरतिरको छिमेकी देश चीनबाट आयात गरेर पनि नेपालमा ठूलो संकट हुन नदिने कूटनीतिक जवाफ भारतलाई दिनुभएको थियो । त्यहीबेला सुरु भएको हो चीनबाट काठमाडौंसम्म रेल ल्याउने कुरा र चीनबाटै नेपालसम्म पानीजहाज ल्याउने कुुरा पनि । योभन्दा सफल कूटनीति अरु के हुन्छ ? कूटनीतिमा हाम्रा प्रधानमन्त्री केपी ओली कति अगाडि हुनुहुन्छ भन्ने कुरा आज भारतमा पुगेर त्यही रेल र पानीजहाज हामी पु¥याइदिन्छौं काठमाडौं भनेर सहयोगका हातहरू फैलाउन भारतीय नेताहरूलाई बाध्य बनाउने क्षमता पुष्टि भइसकेको छ । मैले कूटनीतिक भाषा मात्र बोल्न जानेको छु भनेर भनिरहनु पर्दैन ।
प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा निर्धारित र प्रचारित एउटा काम गर्न रुचि नदेखाउनुभएको पनि सार्वजनिक भएको छ । स्वाभिमानी नेपाली जनताका निम्ति यो गर्वको कुरा हो । अरुण तेस्रोको उद्घाटन भारतको हैदरावादबाट दुई प्रधानमन्त्रीले ‘स्वीच अन’ गरेर गर्ने भन्ने कुरा निर्धारित कार्यक्रममा सार्वजनिक गरिएको थियो । यो कार्यक्रममा प्रधानमन्त्री ओलीको असहमति भएकैले यो स्थगित भयो । नेपालको नदी, नेपालको योजना अनि भारतबाट स्वीच अन किन ? प्रश्न स्वाभाविक थियो । यस्तो प्रश्नका लागि कूटनीतिक भाषा आवश्यक पर्दैन । असहमति नै सबैभन्दा सटिक कूटनीतिक जवाफ हो । यो जवाफले ‘म नेपालको अहितमा काम गर्न आएको हैन’ भनेर कूटनीतिक भाषा बोलेको छ ।
प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणबाट दुई देशबीच सबै भ्रम टुटेका छन् भनेर आफ्नो विचार सार्वजनिक गर्नुभएको छ । भारतले नेपाली जनता नेपालको हितविपरीत बोलेको र काम गरेको रुचाउँदैनन् भन्ने कुरा राम्रोसँग बुझेको छ । नेपालको हितमा बोलेकैले र नेपाली जनताको चाहनालाई बुझेकैले केपी ओली नेपालमा लोकप्रिय नेता बन्न पुगेको कुरा भारतीय नेताहरूले बुझेको कुरा एक किसिमले भ्रम टुट्नु नै हो । नेपाली जनताले के चाहेका छन् भन्ने कुरा भारतीय नेताहरूले बुझ्नु पनि भ्रम टुट्नु नै हो । नेपाली जनताले काठमाडौंसम्म रेल चाहेका छन्, नेपाली जनताले समुद्रसम्म पानीजहाजको उपयोग गर्न पाउने अन्तर्राष्ट्रिय अधिकारको चाहना गर्दछन् भन्ने कुरा भारतले बुझ्नु भ्रम टुट्नु हो ।
हुन त भारत र नेपालका बीचमा अझै समस्याहरू छन् भनेर प्रधानमन्त्री केपी ओलीले प्रष्ट पारिसक्नुभएको छ । नेपाल र भारतबीचका समस्या भारत स्वतन्त्र भएदेखि नै रहँदै आएका छन् । सन् १८१६ मा सुगौली सन्धि भएदेखि नै नेपाल र भारतबीच समस्या रहिआएको छ । तत्कालीन भारतका ब्रिटिश शासकहरूले नेपालसँग गरेको सुगौली सन्धिबाट नेपाली भूमि हडपिएको थियो । आफ्नो साम्राज्य विस्तार गर्ने क्रममा भारतमा शासन गर्न आइपुगेका ब्रिटिश शासकहरूले नेपालको केही भूभाग हडपेका थिए । त्यो भूभागलाई आजपर्यन्त भारतमै राखिएको छ । भारत स्वतन्त्रताका लागि महात्मा गान्धीले ‘जेल भरो’ आन्दोलन आह्वान गरेका बेला नेपालका तत्कालीन नेताहरू पनि ब्रिटिश शासकका विरुद्ध भारतमै आन्दोलित हुन पुगेका थिए । नेपाली नेताहरूसमेतको सहयोगबाट ब्रिटिश शाकहरूलाई पराजित गर्न र लखेट्न सफल भएको तथ्यलाई आजसम्मका भारतीय नेताहरूले बुझ्न सकिरहेका छैनन् । सुगौली सन्धिबाट अंग्रेजहरूले कब्जामा लिएको नेपाली भूमि नेपाललाई फिर्ता नगर्नु नै भारतीय नेताहरूमा रहेको अबुझपन हो । यही सुगौली सन्धिभन्दा पूर्वको नेपाल कायम हुने हो भने समुद्रमा पानीजहाजको पहुँच नेपालको भौगोलिक शान नै बन्न जानेछ । यो आफ्नै अधिकार प्राप्तिका निम्ति नेपालका तर्पmबाट आजसम्म कसैले नबोलेको भाषा केपी ओलीले बोलेका छन्, पानीजहाजको परिकल्पना गरेर । नेपालको भूभाग सुगौली सन्धि पूर्वको कायम हुने हो भने पानीजहाजका लागि भारत र चीन कसैको कृपा नेपाललाई आवश्यक हुने छैन । पानीजहाजको परिकल्पना नै भारतीयहरूलाई नेपालको कूटनीतिक भाषा हो– सुगौली सन्धिपूर्वको नेपाल कायम गरियोस् ! भारतीय शासकहरूले नेपालको पानीजहाजको परिकल्पनालाई बुझ्न चाहने हो भने अरु सबै भ्रमहरू टुटेर जानेछन् । लिपुलेक र कालापानी हुँदै सुस्ता र महेशपुरसम्मका सीमा अतिक्रमणका कुराहरू र सीमा क्षेत्रमा बाँध बाँधेर नेपाली भूमि जलमग्न गराउने भारतीय ज्यादती सबै कुरा नेपालको पानीजहाजको परिकल्पना साकार भएपछि सबै सतहमा आउनेछन् । प्रधानमन्त्री केपी ओलीले बोलेको सोझो भाषा सबैभन्दा कूटनीतिक छ भन्ने कुरा भारतीय समकक्षीले बुझ्न नसक्नु नै उनको कूटनीतिक कमजोरी हो । नेपाललाई आश्वासनका भरमा भुलाउन सकिन्छ भन्ने भ्रमबाट भारतीय नेताहरू मुक्त हुन जरुरी छ ।

 
कोशीको पीडा भोगिरहेका नेपाली जनता महाकाली कब्जा गरिरहेको देखिइरहेका छन् । महाकालीबाट एक खर्ब २० अर्ब रूपैयाँ वार्षिक नेपाललाई आम्दानी हुने सपना देखिरहेका केपी ओली स्वयम्ले पश्चाताप गरिरहेको अवस्था छ । तैपनि अरुण तेस्रो र माथिल्लो कर्णाली कब्जा गरेर भारतबाटै ‘स्वीच अन’ गर्ने जमिन्दारी ब्रिटिशकालीन सोचबाट आजका भारतीय नेताहरू पनि मुक्त नभएको देख्दा उनीहरूसामु कूटनीतिक भाषा मलाई बोल्न आउँदैन भन्नुको विकल्प अरु के पो हुन्छ र ! भारतीय शासकहरूलाई बुझाउन ओली कमरेडले खेल्नुभएको भूमिका प्रशंसनीय छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here