मोदीको नेपाल भ्रमणपूर्व भारतीय सञ्चार भ्रम फैलाउदै

265

काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि यही बैशाख २८ गते नेपाल आउने व्यापक तयारी भएको छ । भारतमा भन्दा नेपालमा बढी चर्चा पाइरहेको मोदीको नेपाल भ्रमण ऐतिहासिक महत्वको हुने आँकलन गरिएको छ । हेलिकोप्टरमार्फत जनकपुर हुँदै नेपाल आउन लागेका मोदीको भ्रमण यो प्रधानमन्त्री भएपछिको तेस्रो हुने छ भने ०७२ असोजदेखि भारतले लगाएको नाकाबन्दीपछिको पहिलो नेपाल भ्रमण हुनेछ ।
भूकम्पले त्राहिमाम बनेको नेपालमा ६ महिनासम्म नाकाबन्दी लगाएर मानवीय संकट उत्पन्न गराएपछि मोदी र भारतलाई नेपाली जनताले हेर्ने दृष्टिकोणमा निकै परिवर्तन आएको छ । जनतासँगै राज्यस्तरमा समेत भारत–नेपाल सम्बन्ध नाकाबन्दीपछि निकै चिसो बन्यो । नेपालले भारतीय स्वार्थ अनुकूल काम गर्न नमानेपछि भारतले नेपाललाई चीनसँग नजिक भएको आरोपसमेत लगाउने गरेको छ । भारतीय प्रधानमन्त्री मोदीको हालै हुन लागेको भ्रमण सरकारी तह र जनताबीचमा उत्पन्न असमझदारीलाई सामान्य गराउँदै सम्बन्ध सुधारको प्रयासका रूपमा पनि हेरिएको छ ।
मोदी कुनै महत्वपूर्ण एजेण्डामा छलफल गर्न वा विशेष कार्यक्रममा सहभागी हुन भन्दा पनि नितान्त व्यक्तिगत भ्रमणका लागि अनौपचारिक भ्रमणको शैलीमा नेपाल आउन चाहेको प्रचार गरिएको छ । तर पनि उनले भ्रमणका क्रममा एउटा विशेष सम्मानको अपेक्षा गरेका छन् । मोदी नाकाबन्दीका कारण रिसाएका नेपाली जनताबाट नाकाबन्दीभन्दा पहिले अर्थात उनको पहिलो र दोस्रो नेपाल भ्रमणकै जस्तै सम्मान होस् भन्ने चाहन्छन् भन्ने कुरा उनले काठमाडौंमा नआएर सर्वप्रथम जनकपुरमा भ्रमण तय गर्नुबाट पुष्टि हुन्छ । राजधानी काठमाडौबाट तत्कालै विशेष सम्मानको सम्भावना नदेखिएकाले पनि मोदी नाकाबन्दीका बेलासमेत सामान्य अवस्थामा रहेको दुई नम्बर प्रदेशबाट भ्रमणको सुरुवात गर्दैछन् !
यसको अर्थ हो उनी जसरी हुन्छ नेपालमा आपूmलाई भव्य स्वागत भएको देखाउन चाहन्छन् । त्यसैका लागि उनको भ्रमण जनकपुरबाट हुँदैछ । अझ अनौठो विषय के भने दुई नम्बर प्रदेश सरकारले विभिन्न आठ जिल्लाबाट दशौँ हजार नागरिकलाई मोदीको स्वागतका लागि कार्यक्रममा उपस्थित गराउने तयारी गरिरहेको छ । जनताको स्वेच्छाले भन्दा पनि प्रदेश सरकारकै उर्दीमा ठूलो जनसंख्यालाई भेला गराउनुका पछाडी पनि मोदीलाई भव्य स्वागत भएको देखाउनकै लागि हो भन्ने पुष्टि हुन्छ । यो मोदीकै इच्छा अनुसार भइरहेको पनि विश्लेषकहरूको विश्लेषण पाइएको छ ।
हालै मात्र नेपालको उत्तरी छिमेकी मुलुक चीनको भ्रमण सकेर स्वदेश फर्किएका मोदीले चीनमा पनि निकै महत्वपूर्ण सम्मान पाए । भारत र चीनबीचमा डोकलाम विवादले झण्डै युद्धको अवस्था सिर्जना गरेको पेरिफेरिमा मोदीलाई चीनले गरेको सम्मानले मोदी दंग भएका छन् तर, उनी लज्जित हुनुपर्ने हो भन्ने विश्लेषकहरूको मत पाइएको छ ! चीनसँग कुनै महत्वपूर्ण छलफल वा सम्झौता नगरी सम्मानमा दंग परेको भन्दै उनकै देश भारतमा समेत मोदीको आलोचना सुरु भइरहेको छ ।

 
नेपाल भ्रमणका क्रममा पनि मोदीले नागरिक अभिनन्दनको अपेक्षा गर्नुका पछाडि उनी जस्तोसुकै असमझदारी हटाएर परिस्थितिलाई आफू अनुकूल बनाउन सक्छन् भन्ने सन्देश दिन खोज्नु रहेको बुझ्न सकिन्छ । सम्बन्ध बिग्रिएका नेपालीसँग सहजै सम्बन्ध सुधार गरेको सन्देश दिनका लागि उनले यो भ्रमणमा जबरजस्ती जम्मान भएको देखाउन खोजिरहेका छन् । मोदीका कारण नेपाली जनताले ६ महिनासम्म मानवीय संकट भोग्नु परेको तीतो सत्य हो । तर पनि उनले नेपालसँग सम्बन्ध सुधार गर्न चाहन्छन् भने त्यसका लागि नेपाल सरकार र नेपाली जनताले कन्जुस्याइँ गरिरहेका छैनन् । मोदी नै यस्ता भारतीय प्रधानमन्त्री हुन्, जसले १७ वर्षदेखि हुन नसकेको भारतीय सरकार प्रमुखको भ्रमणको रेकर्डलाई तोड्दै प्रधानमन्त्री भएलगत्तै दोस्रो मुलुकका रूपमा नेपाल भ्रमण गरेका थिए । यत्ति मात्र होइन उनले त्यसलाई निरन्तरता दिँदै एकै कार्यकालमा तेस्रोपटक भ्रमण गर्दैछन् । सम्भवतः ब्रिक्स सम्मेलनमा भाग लिन उनी यही वर्ष पुनः नेपाल आउने छन् । यदि उनी त्यतिबेला पनि नेपाल आएभने एकै कार्यकालमा उनको चौथो नेपाल भ्रमण हुने छ । एउटा छिमेकी मुलुकको कार्यकारी सरकार प्रमुखको जिम्मेवारी सम्हालिरहेका नरेन्द्र मोदीको नेपाल मोहलाई गलत ढंगले मात्र नहेरी सरकारले उच्च सम्मान दिइरहेको छ । यसले नेपालको कूटनीतिक सिष्टतालाई स्पष्ट गरेको छ । भारतीय प्रधानमन्त्री मोदीका कारण नेपालमा सिर्जना भएको मानवीय संकटलाई कतिपयले गल्तीवश वा उनको खुफिया एजेन्सी र कर्मचारीत्रन्त्रको चालका रूपमा पनि अथ्र्याउने गरेका छन् । यदि यस्तो तर्कमा कहीँ कतै सत्यता छ भने र मोदी साँच्चिकै नेपालप्रति सकारात्मक छन् भने उनको यसपटकको भ्रमणमा केही महत्वपूर्ण विषयलाई नेपालका तर्पmबाट उठाउनै पर्ने आवश्यकता देखिन्छ । त्यस्ता विषयप्रति मोदीले अवलम्बन गर्ने रणनीतिले उनको नेपालप्रतिको चासो के हो भन्ने कुरा बुझ्न सकिने छ ।

 
नेपालले विगत लामो समयदेखि तत्कालीन बेलायती शासकसँग भएको सुगौली सन्धिका कारण धेरै क्षेत्रमा समस्या भोग्दै आइरहेको छ । एकतिहाइ नेपाली भूमि गुमाउनुको एउटा पीडा छँदै छ, भूपरिवेष्ठित मुलुक बन्नुपर्ने अर्काे पीडा नेपालले भोग्दै आएको छ । त्यही सन्धिकै कारण आज पनि नेपाली युवाहरूले भारत र बेलायतका लागि अन्य मित्रराष्ट्रहरूसँग लडाइँ लड्नु परिरहेको छ । पछि नेपाल र भारतका बीचमा भएको मैत्री तथा शान्ति सन्धि सन् १९५० को धारा ८ ले त्यस अघि भएका सबै किसिमका सन्धि सम्झौतालाई खारेज गरेको उल्लेख छ । जबकि नेपालले धारा ८ मा उल्लेख भए विपरीत अहिले पनि बेलायती शासकसँग भएकै सन्धि अनुसारकै अवस्था भोगिरहेको छ । यस विषयमा नेपाल सरकारले भारतीय प्रधानमन्त्री मोदीसँग नेपाल भ्रमणका क्रममा सिष्टतापूर्वक मुख खोल्न आवश्यक देखिन्छ । उक्त धाराको तात्पर्य के हो ? त्यो किन लागु हुँदैन । नेपालले अक्षरशः पालना गर्नुपर्ने उक्त सन्धिलाई भारतले किन मान्दैन ? उक्त धारामा उल्लेख भएका विषय प्रति भारत किन गम्भीर हुँदैन ? भन्नेजस्ता विषयमा पनि नेपाली पक्षले खुलस्त कुरा गर्न सक्नुपर्दछ भन्ने विश्लेषकहरूको अभिमत पाइएको छ ।

 
नेपाल र भारतकाबीचमा व्यापार घाटा दिनानुदिन बढिरहेको छ । नेपालले वार्षिक अर्बाैँको व्यापार घाटा भारतसँगको व्यापारमा भोग्दैआएको छ । आयातमुखि व्यापारका कारण नेपालले यस्तो समस्या भोग्दै आएको हो । जबकि नेपालले यहाँबाट कुनै कृषिजन्य जस्तुको निर्यात गर्न खोज्दा भारतीय पक्षले सधै अवरोध गर्दै आएको छ । जस्तो नेपालको अदुवा, अलैची, तेल र सुपारीजस्ता महत्वपूर्ण कृषिजन्य वस्तुको भारत निर्यातका क्रममा नेपाली किसानले सधैं सास्ती पाउँदै आएका छन् । यस्ता विषयमा पनि भारतीय प्रधानमन्त्रीसँग गम्भीर रूपमा छलफल गर्न आवश्यक छ ।
नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले सधै नेपाली पक्षलाई दुःख दिने तथा सिमा अतिक्रमण गर्ने तथा नेपालीमाथि कुटपिट र हत्यासमेत गर्ने गरेका घटना पटक पटक दोहोरिने गरेका छन् । भारतीय बाँधका कारण नेपालले सधै सास्ती भोग्नुपर्ने अवस्था छ । कोशी बाँधका कारण नेपालीले सधै डुबानको समस्या भोग्नुपर्ने बाध्यता छ । यस्ता विषयमा भारतसँग गम्भीर बहस गर्न आवश्यक छ ।

 
अहिलेसम्मको स्थिति हेर्दा नेपाल भारतबीच जे जस्तो सन्धि सम्झौता वा समझदारी हुन्छन्, ती केवल नेपालले मात्रै पालना गर्नुपर्ने विडम्बना देखिदै आएको छ । यस विषयमा भारतीय पक्षलाई ध्यानाकर्षण गराउन नेपालका तर्पmबाट कूटनीतिक पहल आवश्यक देखिन्छ । नेपालले नियम उल्लंघन गर्दा भारतीय पक्षले सधै सन्धिसम्झौताको हवाला दिँदै दवाव दिने गरेको छ, जबकि भारतीय पक्षले जति नै सन्धि, सम्झौता वा समझदारीको उल्लंघन गरे पनि त्यसलाई सामान्य रूपमा लिने परम्परा नै बनेको छ । यसले नेपाल र भारतका बीचमा असमानता खडा गर्दै गइरहेको छ । यस्ता विषयमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा गम्भीर ढंगले छलफल र समिक्षा हुन आवश्यक देखिन्छ ।
यसैबीच नेपालमा भारतीय प्रधानमन्त्रीको भव्य स्वागत तयारी भइरहेका बेला पश्चिम नेपालको सीमा क्षेत्रमा जंगली जनावरको आवागमनलाई रोक्न नेपाल पक्षबाट नेपाली भूमिमा लगाइएको तारबार भारतीय सुरक्षाकर्मीले भत्काएर ज्यादति मच्चाएका छन् । यस्तो ज्यादतिलाई ढाकछोप गर्दै भारतीय सञ्चारमाध्यमहरूले नेपाली जनताले भारतीय सीमा अतिक्रमण गरे भन्नेजस्ता कपोकल्पित समाचार बनाएर भ्रम सृजना गरिरहेका छन् । अमर उजाला नाम गरेको भारतीय पत्रिकाले ७ कोलमको शीर्षक बनाएर भारतीय सुरक्षाकर्मीको अपराधलाई ढाकछोप गर्दै नेपालीमाथि दोषारोपण गरी समाचार प्रकाशन गरेको छ । यस्ता विषयतर्पm पनि मोदीको नेपाल भ्रमण अवधिमा छलफल चलाइनु आवश्यक देखिन्छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here