‘धार्मिक भ्रमण’मा आएका मोदीलाई भन्नैपर्ने धर्मका कुरा

171

सम्पादकीय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आउन लागेका मोदीको यो भ्रमण धार्मिक हुने जनाइएको छ । मोदी भारतको पटनाबाट सीधै नेपालको २ नम्बर प्रदेशस्थित जनकपुरधाम आउने कार्यक्रम छ । त्यहाँ उनले जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेपछि काठमाडौं आएर मुक्तिनाथ मन्दिरसमेत दर्शन गर्न जाने जनाइएको छ । जनकपुरमा नै रहेको बाह्रविगाहमा मोदीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रमको तयारी दुई नम्बर प्रदेश सरकारले गरेको छ । मोदीले आफ्नो नेपाल भ्रमणमा धार्मिक क्षेत्रको भ्रमणलाई प्राथमिकता दिएकाले पनि उनको यो भ्रमण धार्मिक हुने उल्लेख गरिएको हो ।
हिन्दू धर्मावलम्बी मोदीले नेपालका तीर्थस्थलहरूको भ्रमण गर्नुले ती क्षेत्रको विश्वस्तरमा नै प्रचार पनि हुने भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्छ । कुनै पनि हिन्दू धर्मावलम्बी व्यक्तिले मठमन्दिरमा दर्शन गर्नुको अर्थ आफ्नो विगतका गल्ती र पापलाई क्षमा माग्नु र आगामी दिनमा सत्कार्य गर्न प्रेरित होऊँ भन्ने भावना रहेको हुन्छ । मोदीले पनि नेपालका पवित्र धामहरूको दर्शन गर्ने कार्यक्रम तय गर्नुमा त्यही भावना प्रेरित छ भन्न सकिन्छ । तर, मोदीले नेपाल र नेपालीलाई विगतमा गरेको व्यवहारले भने उनको अधार्मिक चरित्रलाई उजागर गरेको छ । त्यसैले नेपाल र नेपालीलाई दुःख दिएर नेपालका धार्मिक क्षेत्रको दर्शन गरेर मात्र मोदीको धर्म र पुण्य आर्जन गर्न सक्दैनन् । हिन्दू धर्मका शास्त्रहरूले पनि मानव सेवालाई नै सबैभन्दा ठूलो धर्म भनेका छन् । तर, भारतीय सरकारको नेतृत्व गरेका मोदीले विगतमा भूकम्पपीडित नेपालीलाई नाकाबन्दी गरेर जुन अमानवीय व्यवहार प्रस्तुत गरे, त्यो गल्तीलाई स्वीकार गरेर अब आइन्दा त्यस्तो नगर्ने प्रतिबद्धता गरे मात्र उनको धार्मिक भ्रमण सफल हुन सक्नेछ । धर्म कमाउन नेपाल आउन लागेका मोदीले सर्वप्रथम नेपाल र नेपालीको विकासमा भारत कहिलै बाधक हुनेछैन भन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । भारतका सैनिकहरूले सीमाक्षेत्रमा गरेका ज्यादती र सीमा अतिक्रमण अब हुनेछैन भन्ने प्रतिबद्धता गरे मात्र मोदीले धर्म पाउन सक्नेछन् । भारतले नेपालको जलस्रोत तथा जलविद्युत्मा कब्जा गरी नेपाललाई लोडसेडिङ गराइराख्ने जुन षड्यन्त्र गर्दै आएको त्यसलाई सुधार्नुपर्नेछ । नेपालको तराई क्षेत्रलाई विभाजन गर्न विगतदेखि नै भारतले षड्यन्त्र गर्दै आएको छ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै यहाँ अस्थिर राजनीतिक वातावरण सृजना गर्नुमा भारतको ठूलो हात रहेको छ । त्यसलाई सुधार्ने प्रतिबद्धता मोदीले गर्नुपर्छ ।

 
विगतमा गरिएका असमान सन्धिसम्झौतालाई खारेज, कोशी, गण्डकी र महाकाली जस्ता नदीनाला नेपाललाई फिर्ता गरी नेपालको सार्वभौमसत्ताको सदा सम्मान गर्ने प्रतिबद्धता मोदीले गर्न सके मात्र उनको धार्मिक भ्रमण सफल हुनेछ । भारतले लगाएको नोटबन्दीका कारण नेपाली व्यवसायी तथा जनताका करोडौं भारु नोट निष्क्रिय भएका छन् । त्यसलाई साट्न भारतले आनाकानी गर्दै आएको छ । त्यो समस्यालाई भारतीय पक्षले हल गर्न सहकार्य गर्ने प्रतिबद्धता मोदीले गर्न सके मात्र नेपाल भ्रमणमा उनले अलिकति भए पनि पुण्य आर्जन गर्नेछन् ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here