काठमाडौं / सरकारी कार्यालयले असारे विकास तथा बजेट सक्नका लागि एकैदिनमा अर्बौं भुक्तानी गरेको पाइएको छ । कार्यालय प्रमुख, लेखा, स्टोर र प्रशासनमा कार्यरत कर्मचारीबीचको मिलेमतोमा ठूलो रकम भुक्तानी गरिएको हो । गत शुक्रबार असार २२ गते एकै दिन १० अर्ब रूपैयाँ चालु खर्चअन्तर्गत भुक्तानी दिइएको पाइएको हो ।
सरकारको लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आवको सुरुदेखि जेठ अन्तसम्म चालू बजेटको खर्च दैनिक औसतमा एक अर्ब ८७ करोड रूपैयाँ हुँदै आएको थियो । असार १५ देखि दैनिक तीनदेखि चार अर्ब रूपैयाँ हुँदै आएकामा गत शुक्रबार एकै दिन १० अर्ब रूपैयाँ भुक्तानी भएको हो । वर्षका अघिल्ला दिनको तुलनामा असार १५ पछिको खर्च झन्डै तीन सय प्रतिशत बढी हो ।
(- जनधारणा साप्ताहिक)

















