प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीचको वार्ता कांग्रेस र विवेकशील साझा पार्टीले भाँडेको आरोप लगाएका छन् । अर्यालका अनुसार केसी र सरकार पक्षबीच सातबुँदे सहमति भएको थियो । वार्तापछि कांग्रेस नेता गगन थापा, विवेकशील साझाका सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्यालको होटेल क्रिस्टल थापाथलीमा बैठक बस्यो ।
सरकारसँग भएको सहमति नमान्ने निष्कर्ष उनीहरूले मंगलबार नै निकालेका थिए । बुधबारको वार्तामा केसीका तर्फबाट आएका जीवन क्षेत्री र अभिषेक सिंह लचिलो रूपमा प्रस्तुत भएका थिए । तर, विवेकशील साझाका ओम अर्याल र सुरेन्द्र भण्डारीले भने सहमति कार्यान्वयन गर्ने प्रक्रियाका विषयमा विवाद झिके ।
सरकारका तर्फबाट सातबुँदे सहमतिअनुरूप संसद्मा सरकारले प्रस्तुत गरेको विधेयक संसद्मा गइसकेकाले सहमतिअनुरूपको संशोधन गर्न लचकता प्रस्तुत गरिएको थियो । विधेयकमाथि संशोधन गर्ने क्रममा संशोधन प्रस्तावमार्फत केसीका माग अघि बढाउन साझा विवेकशीलका प्रतिनिधि सहमत भएनन् । नयाँ पत्रिकाबाट ।

















