राजनीतिमा एक चर्चित नाम हुन् सुश्री भद्रकुमारी घले । २०४६ सालपछि राजनीतिलाई चटक्कै छाडेर आफ्नै नामको सामाजिक संस्था खोलेर समाज सेवा र साहित्यतर्फ डोरिएकी उनी समाजसेवा र शिक्षाको क्षेत्रमा सेवारत छिन ।
पंचायती ब्यबस्थामा चार चार पटक माननीय भएकी उनी सूर्यबहादुर थापाको मन्त्रीमंडलमा श्रम तथा समाज कल्याण राज्यमन्त्री समेत भएकी थिईन । जुद्ध शमशेरकी छोरी कमल राणालाई समेत माननीयको चुनावमा पराजित गरेकी थिइन उनले ।
आफूलाई साहित्य नआउने र छन्द लेख्नेहरुको भीडमा आफू बेछन्दे भन्न रुचाउने घले नेपाली साहित्यकको फाँटमा साहित्यका विविध विधामा उनका १४० थान कृतिहरु प्रकाशित भैसकेका छन् ।
आजीवन अविवाहित रहे तापनि त्यसमा र आफूले भोगिरहेको जीवनमा रत्तिभर पनि असन्तुष्टि नरहेको बताउने घले अहिले पनि मैतीदेवीस्थित आफ्नो घरमा थुप्रैलाई आश्रय दिएर बसिरहेकी छिन । शैक्षिक डिग्रीको हिसाबले घलेले शास्त्रीसम्मको औपचारिक शिक्षा हासिल गरेकी छिन। तर यिनले आफ्नो जागिरे जीवन एउटी नर्सको रुपमा सुरु गरेकी थिईन । जनकपुर अंचल अस्पतालमा नर्सको रुपमा कार्यरत रहेकै बेलामा उनी पंचायती राजनीतिमा महिला संगठनको अंचल सभापतिको रुपमा रातारात पदार्पर्ण गरेकी हुन् ।
उनी भन्छिन्- एमाले र माओवादीलाई म किन आदर गर्छु, किन सत्कार गर्छुभने यो देशका आदिवासी, जनजाति, पिछडिएका जातिहरु जो छन् यिनलाई चिम्टा लगाएर आँखा उघारेर जागृतिमा ल्याएर आफ्नो पहिचान खोज्ने कसैले बनायो भने त्यही माओवादीले बनायो । दश बर्षे रक्तक्रान्ति गरेर सबैलाई जागृत गरे त्यो नै ठूलो उपलब्धी हो ।
देश विदेश जानुपर्ने रहेछ, कामाउनु पर्ने रहेछ, परिवारलाई यो ढंगले पाल्नु पर्ने रहेछ भनेर सिकाएको नै उनीहरुले नै हो। उनीहरुको कमाइले परिवार पालिरहेको मात्रै हैन रेमिट्यान्स मार्फत राष्ट्र संचालन गरिरहेका छन् । चाहे मलाई सिन्धुलीबाट लखेटेको किन नहोस, काठमाडौँ आउन बाध्य बनाएको किन नहोस, आज म उनीहरुलाई आशिर्बाद दिईरहेकी छु । उनीहरुले मलाई काठमाडौँ आउन बाध्य नबनाएको भए मैले यत्तिको समाजसेवा गर्न नि पाउन्न थिएँ होला, १४० वटा किताब पनि लेख्न पाउन्न थिएँ होला ।
चुनावताका ओलीजीले जनतालाई दिएको आश्वाशन उहाँलाई जनताले पूरा गर्न दिनु परेन ? पूरा गर्न दिए न गर्ने हो ?देश बनाउने युवाहरुले त प्रधानमन्त्री सामुं गएर भन्नु पर्यो ल भन्नुस देश बनाउन हामीलाई के काम दिनु हुन्छ भनेर । कम से कम सरकारलाई पांच बर्ष त काम गर्न दिनु पर्यो नि । देश बनाउनु भनेको दालभात, तरकारी पकाए जस्तो हो र ? दालभात पकाउन त् दुई घण्टा तीन घण्टा लाग्छभने चुट्कीको भरमा देश बन्छ ? सरकारलाई काम गर्ने दिईएको छैन, नत्र ओलीजीले देश बनाएर देखाई दिनु हुन्छ । मलाई पूरा विश्वाश छ, त्यत्ति गरेनन भने ती नेता नै हैनन् । हैनभने तिनले चौध बर्ष जेल बसेको त धिक्कार हुन्छ । यदि यिनले पनि गरेर देखाउनु सकेनन भने यो देश बन्दैन ।
भन्दै घलेले स्वदेशनेपाल डटकमसंगको संवादमा उल्लेख गरेकी छिन् ।


















