बिम्स्टेकलाई प्रभावकारी बनाउने नेपालको प्रतिबद्धता

176

काठमाडौँ, १८ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई थप प्रभावकारी, क्रियाशील एवं परिणाममुखी तुल्याउन नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि हासिल गर्ने उद्देश्यले दुई दशकअघि स्थापना भएको उक्त उपक्षेत्रीय संगठनको यसै आगामी भदौको दोस्रो साता राजधानीमा हुन लागेको चौथो शिखर सम्मेलनको सिलसिलामा विहिबार काठमाडौँमा भएको परामर्श बैठकमा अध्यक्षको हैसियतमा नेपालले त्यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।

नेपालका विद्वत् वर्गको साझा संस्था इन्स्टिच्युट फर स्ट्राटिजिक सोसियो इकनमिक रिसर्च (आइएससआर) त्यस्तै प्रकृतिको भारतीय प्रतिष्ठान रिसर्चएण्ड इन्फर्मेशन (आरआईएस) र पेभिलियन ग्रुपले संयुक्तरुपमा गरेको ‘प्रि बिम्स्टेक समिट कन्सल्टेटिभ मिटिङ’को उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सबै सदस्य मुलुक एकजुट भई सुमधुर भविष्यका निम्ति अग्रसर हुनुपर्ने बताए ।

उनले क्षेत्रीय शान्ति र समृद्धिका लागि क्षेत्रीय सहयोगको विकल्प नरहेको उल्लेख गर्दै बिम्स्टेक देशका जनताको जीवनस्तर उकास्ने उनीहरुको सुरक्षा तथा मर्यादित जीवनयापनमा सघाउँदै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहयोग प्रवद्र्धन बिम्स्टेको अर्को महत्वपूर्ण विशेषता भएको बताए ।

द्रुत आर्थिक विकास तथा सामाजिक प्रगतिको उद्देश्यले स्थापना भएको बिम्स्टेकले क्षेत्रीय शान्ति, प्रगति र जनकल्याणमा आशा र विश्वास बढाएको भन्दै उहाँले २१ औँ वर्षमा प्रवेश गरेको बिम्स्टेक दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियालाई जोड्ने सेतुका रुपमा स्थापित भएको बताए ।

बिम्स्टेक मुलुकका दूरदृष्टियुक्त नेतृत्वले आफ्ना मुलुकको बासिन्दाका विकासका साझा चाहना पूरा गर्न चाहेका व्यापार, लगानी, पर्यटन, गरिबी निवारण, ऊर्जा, यातायात तथा सञ्चार, जलवायु परिवर्तनजस्ता क्षेत्रमा सहकार्य गर्दै आएका मन्त्री ज्ञवालीले बताए ।

नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्ते शाम्सले क्षेत्रीय सहयोगलाई अझ विस्तृत एवं एकीकृत तुल्याउन नयाँ प्रयास अपरिहार्य भएको बताए ।

नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले क्षेत्रीय सहयोगको भावनालाई अझ सुदृढ बनाउन र पारस्पारिक लाभका क्षेत्रका परियोजनामा सहकार्य गर्न बिम्स्टेक स्थापना भएको चर्चा गर्दै आफ्नो देशको सरकारले अङ्गीकार गरेको ‘छिमेक पहिले’ कूटनीतिको विशेषता भएको बताए ।

नेपालका लागि श्रीलंकाका राजदूत डब्लु एस पेरेराले व्यापार लगानीलाई बिम्स्टेक मुलुकमा भित्र्याउने आर्थिक विकासका माध्यमबाट सदस्य देशका जनताको समृद्धि सुनिश्चित गर्नु बिम्स्टेको मुख्य लक्ष्य हो भने ।

आइएससआरका कार्यवाहक अध्यक्ष प्राध्यापक गोविन्द नेपालको सभापतित्वमा भएको उद्घाटनसत्रमा श्रीलंकाका लागि नेपाली राजदूत प्रा विश्वम्भर प्याकु¥याललगायतले क्षेत्रीय सहयोगका लागि बिम्स्टेकको औचित्य र आवश्यकताबारे चर्चा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here